नेपाल टेलिभिजनमा आर्थिक कार्यक्रम चलाएर पत्रकारका रूपमा चिनिएका राजीव उपाध्यायले विश्व बैंकमा २३ वर्ष काम गरे। उनको भर्खरै नेपालको अर्थराजनीतिसँग सम्बन्धित पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ प्रकाशन भएको छ। फाइन प्रिन्टबाट बजारमा आएको यही पुस्तकको विषयमा केन्द्रित भएर उपाध्यायसँग गरिएको छोटो कुराकानी :
किताब लेख्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो?
मेरो यसअघिको पेसा लेखाइ र पढाइसँग सम्बन्धित थियो। विश्व बैंकमा रहँदा मैले रिपोर्ट पढ्ने, लेख्ने, सम्पादन गर्ने काम गरें। साहित्यका किताब पनि पढ्ने बानी भएकाले किताब लेख्ने प्रेरणा जाग्यो।
‘कबाल्स एन्ड कार्टेल्स’ पाठकले किन पढ्ने?
यसमा मैले बिल्कुल नयाँ विषय प्रस्तुत गरेको छु भन्ने होइन। हाम्रो पुस्ताले विभिन्न कालखण्डमा अनुभव गरेका विषयलाई संग्रह गरेको छु। लामो इतिहास हुँदा पनि हामी विकास–निर्माणलगायत हरेक क्षेत्रमा किन पछाडि प¥यौं? भन्ने सन्दर्भ यसमा उल्लेख गरेको छु। अहिलेको समाजको आर्थिकलगायत बहुआयमिक पक्षबारे जानकारी लिन पुस्तक उपयोगी छ।
पुस्तक कस्तो उमेर समूह वा क्षेत्रका पाठकलाई केन्द्रित गरेर लेख्नुभएको हो?
विशेषगरी युवा पाठकले पढ्नुपर्छ। मुलुकमा छोटो–छोटो समयमा थुप्रै परिवर्तन भए। तर नागरिकको जीवनस्तरमा तात्त्विक फरक आउन सकेन। हामीले अझै संस्थागत विकास र सुशासन पाउन सकेका छैनौं। हामीले मुलुकका लागि आवश्यक आधारभूत कुरा जुटाउन सकेका छैनौं।
यसमा अघिल्लो पुस्ता चुक्यो। नयाँ पुस्ताले त्यसबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्दै अगाडि बढ्ने प्रेरणा ‘कबाल्स एन्ड कार्टेल्स’ ले दिन खाजेको छ। अघिल्लो पुस्ताले आफूलाई झकझक्याउन यो पुस्तक पढ्नुपर्छ। पुस्तक बजारमा आएको एक सातामा युवा र प्रौढ दुवै उमेर समूहले पढिरहेको पाएको छु।
पुस्तकको विषयवस्तु माओवादी द्वन्द्वदेखि राजनीतिक संक्रमणकाल वरिपरि केन्द्रित छ। यसमै केन्द्रित हुनुको कारण के हो?
यो समयमा मुलुकमा निकै उथुलपुथल भयो। ०४६ को परिवर्तपछि मुलुकले सास फेर्छ कि भन्ने आस थियो। लगत्तै सुरु भएको द्वन्द्वले सबैतिर निराशा छायो। यस्ता कुराले हाम्रो विकास र आर्थिक उन्नतिमा बाधा प¥यो। विदेशीको दृष्टिकोण परिवर्तन भयो। लगानीकर्ता हतोत्साही भए। नयाँ लगानीका क्षेत्र पहिल्याउन आँट कसैलाई आएन।
त्यसपछि नेपाल लामो समय राजनीतिक संक्रमणकालको सिकार बन्न पुग्यो। त्यति ठूलो परिवर्तनपछि पनि सुशासन अनुभव गर्न पाइएन। मुलुकको सामाजिक आर्थिक, सांस्कृतिक विकास सबै सुशासनमा आएर जोडिन्छ। त्यसैले यो विषय केन्द्रित गरिएको हो।
हाम्रो मुलुकको अर्थराजनीतिमा विदेशीको भूमिका कस्तो देख्नुभएको छ?
राजनीतिमा उथुलपुथल आउँदा विदेशीको भूमिका सक्रिय बन्न सक्छ। आफूअनुकूल वा भनौं आफूलाई फाइदा हुने खालका कार्यक्रममा नेपालजस्ता देशलाई हिँडाउन उनीहरू प्रयत्न गर्छन्।
हामीले मुलुकको खर्च गर्ने क्षमता र क्षेत्रको पहिचान गर्न नसकेर आवश्यक/अनावश्यक रूपमा अनुदान र ऋण लिइरहेका छौं। विदेशीले हामीलाई किन अनुदान वा ऋण परिचालन गरे भन्ने हामीले सोचेकै छैनौं। नेपालमा गरेको लगानीको फाइदा कसले उठाइरहेको छ भन्ने हामीलाई थाहै छैन वा त्यसबारे सोच्नै चाहेका छैनौं। तर हरेक संकटमा लिएको ऋण वा अनुदानले मुलुकलाई फाइदा गरेको छ। सामान्य अवस्थामा लिने अनुदान वा ऋणमा भने हामी थप जिम्मेवार हुनुपर्ने र चौतर्फी रुपमा सोच्न जरुरी छ।
यो त अर्थराजनीतिसँग सम्बन्धित पुस्तक भयो। तपाईंलाई साहित्य लेखनमा पनि रुचि छ?
अवश्य पनि छ। म साहित्यका पुस्तक पढ्छु। साहित्य लेख्ने रुचि पनि छ। तर त्यसमा न्याय गर्न सक्दिनँ कि भन्ने लाग्छ। अहिल्यै लेखिहाल्ने योजना त छैन तर भविष्यमा लेख्न सक्नेछु।
सम्बन्धित समाचार :
उपाध्यायको अर्थ–राजनीतिक पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक
