आइतबार, जेठ २५, २०८२

अर्बौंको तीज करोडमा झर्‍यो

विगतमा चहलपहल हुने पार्टी प्यालेस सुनसान छन्। शृंगार र कपडा पसलमा व्यापार छैन। सुनचाँदीको किनबेच शून्यजस्तै छ। बुटिकमा मान्छे जानै छाडेका छन्।
 |  शनिबार, साउन ३१, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शनिबार, साउन ३१, २०७७

vianetvianet

काठमाडौं– कोरोना महामारीका कारण यस वर्षको तीज उल्लासमय छैन।

विगतमा चहलपहल हुने पार्टी प्यालेस सुनसान छन्। शृंगार र कपडा पसलमा व्यापार छैन। सुनचाँदीको किनबेच शून्यजस्तै छ। बुटिकमा मान्छे जानै छाडेका छन्। बैंकहरूले तीज लक्षित कार्यक्रम ल्याउन सकेनन्। यसको असर अर्थतन्त्रमा देखिएको छ।

यस वर्ष टीका, चुरा, धागो, पोते, सारी, लेहंगा, शृंगारका सामग्री करिब ३० प्रतिशत मात्र आयात भएको नेपाल व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए।

भन्सार विभागका अनुसार तीजलाई लक्षित गरी व्यापारीले साउनमै सामग्री ल्याउँथे। यसपटक असाध्यै कम सामान मात्र आयात भएको छ।

गत वर्ष तीजलाई लक्ष्य गरी चार करोड ९४ लाख ३४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो। अविवाहित महिलाले लगाउने गरगहना ४८ करोड १९ लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ।

National life insurance

पार्टी प्यालेसले गुमाए एक अर्ब

तीजमा एउटा पार्टी प्यालेसले कम्तीमा १० लाख रुपैयाँसम्म कारोबार गर्थे। एक महिनाअघिदेखि नै विभिन्न संघसंस्था, स्कुल, कलेज, बैंक, सहकारी, राजनीतिक दलका भातृ संगठनहरुले पार्टी प्यालेसमा दर खुवाउने कार्यक्रम आयोजना गर्थे।

यस वर्ष यस्ता क्रियाकलाप पूर्ण रुपमा बन्द छ। केहीले लुकीछिपी चारपाँच जनासम्मलाई सर्भिस दिइरहेको नवदुर्गा क्याटरिङ सर्भिस तथा पार्टी प्यालेसका रुपक बानियाँले बताए। तर यो नगण्य हो।

एउट कार्यक्रमबाट एकदेखि साढे दुई लाखसम्मको व्यापार हुन्थ्यो। बानियाँका अनुसार गत वर्ष उनको पार्टी प्यालेसमा एकै दिन ६ वटासम्म कार्यक्रम भएका थिए। नेपालका पार्टी प्यालेसहरुले यस वर्ष तीजमा एक अर्बभन्दा बढीको व्यापार गुमाएको उनको अनुमान छ।

नेपाल इभेन्ट एन्ड भेन्यु एसोसिएसन काठमाडौंका अध्यक्ष अनिल शर्माका अनुसार एसोसिएसनमा काठमाडौंका मात्र १५० वटा पार्टी प्यालेस आबद्ध छन्। देशभर एक हजारभन्दा बढी सानाठूला पार्टी प्यालेस छन्।

गहनाको नयाँ अर्डर छैन

तीजमा महिलाले सुन जोड्ने चलन छ। तीजकै बेला गहनाका नयाँनयाँ डिजाइन अर्डर हुन्छन्।

यसपालि कोरोनाका कारण अन्य क्षेत्रमा लगानी सुरक्षित नहुँदा सबैभन्दा सुरक्षित मानिएको सुनमा लगानी बढ्यो र यसको मूल्यमा भारी वृद्धि भयो। जसका कारण तीजका लागि नयाँ गहना अर्डर नै नभएको व्यापारी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार २०७६ को तीजमा पनि सुन प्रतितोला ७३ हजार रुपैयाँ रहेकाले गहनाको व्यापार राम्रो हुन सकेको थिएन।

गत वर्ष तीजमा दैनिक १० देखि १५ किलो सुन खपत भएको थियो। २०७५ को तीजमा भने अहिलेसम्मकै बढी अर्थात् दैनिक ५० किलोभन्दा बढी सुन खपत भएको तथ्यांक छ। २०७५ सालको तीजताका सुन प्रतितोला ५३ हजार रुपैयाँ हाराहारीमा थियो।

केही दिनअघि बैंकहरुले २४० किलो सुन बेचेका छन्। तीजका लागि बिक्री भएको भनिए पनि त्यो सुन काठमाडौंका व्यापारीले किनेका छैनन्। सबैभन्दा बढी खपत हुने काठमाडौंमै व्यवसाय ठप्प भएपछि त्यो सुन कहाँ गयो स्पष्ट छैन।

चालु आर्थिक वर्षका लागि ९ वटा वाणिज्य बैंकहरुले सुन ल्याउन अनुमति पाएका छन्। उनीहरुसँग गत हप्तासम्म ३३० किलो सुन मौज्दात थियो। २४० किलो सुन बिक्री भएपछि बैंकहरुले थप सुन मगाउन थालेका छन्।

बुटिकमा छैन चहलपहल

गत वर्ष यतिबेला बुटिकहरुलाई नयाँ डिजाइनका लुगा तयार पार्न भ्याइनभ्याइ हुन्थ्यो। यस वर्ष गत वर्षको तुलनामा तीन–चार प्रतिशत मात्र नयाँ अर्डर आएको व्यवसायी बताउँछन्।

‘विगतमा सामान्य बुटिकहरुले पनि तीजका बेला कम्तीमा १० लाख रुपैयाँ बराबरको कारोबार गर्थे’, व्यवसायी अनुष्का भट्टले भनिन्। कुपन्डोल, दरबारमार्ग, बालुवाटार क्षेत्रमा रहेका बुटिकमा चहलपहल छैन।

शृंगारका सामग्री बिक्रीमा ६० प्रतिशत गिरावट

असन, इन्द्रचोकका गल्लीमा रहेका चुरा, पोते, टीकाजस्ता शृंगार सामग्रीका बजार शून्य छन्। यसपटक पोतेको बिक्री करिब ७० प्रतिशतले कम भएको बानेश्वरका पोते व्यापारी असान जाकिर हुसेनले बताए।

गत वर्षका अरु दिन भएको व्यापारभन्दा तीजको एक सातामा बढी व्यापार भएको उनले बताए। चुरा र टीकाको बिक्री पनि घटेको छ।

शृंगारका अन्य सामग्री बिक्रीमा पनि करिब ६० प्रतिशतले कमी आएको ब्युटीपार्लर एसोसिएसनकी अध्यक्ष कमला श्रेष्ठले बताइन्। ब्युटीपार्लर व्यवसाय ठप्प भएपछि मेकअपका सागग्री बिक्री घटेको हो।

बैंकले ल्याएनन् नयाँ स्किम

तीजमा महिलालाई नै लक्षित गरी बैंकले विभिन्न स्किम ल्याउँथे। नबिल बैंक, मेगा बैंक, सिभिल बैंक, हिमालयन बैंकले गत वर्ष महिलालाई लक्षित गरी विभिन्न सेवासहितको नारी बचत खाता सुरु गरेका थिए । यस वर्ष महिला लक्षित कुनै स्किम नल्याइएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ बताउँछन्।

यस वर्ष तीजमा देशको अर्थतन्त्र नै खुम्चिएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन्। फूलपाती बेच्ने नाङ्लो पसलेदेखि अर्बौंको व्यापार गर्ने सुन पसलेसम्म मारमा परेको अधिकारीको भनाइ छ।

प्रकाशित: Aug 15, 2020| 09:01 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।