काठमाडौं- ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन्। उनले कमजोर स्वास्थ्य अवस्था रहेको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा साउन १ गतेदेखि लागू हुनेगरि स्वीकृत गरेको छ। ग्लोबल आईएमईमा जनता बैंक गाभिएपछि उनी गत मंसिर २० गतेदेखि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
यसअघि उनी सीईओ भएर गएका बैंक अर्काे बैंकसँग विलय भएको थियो। जनता बैंकमा जानुअघि उनी ग्रान्ड बैंकका सीईओ थिए। त्यसअघि उनी बैंक अफ एसियाका सीईओ थिए। ग्रान्ड बैंक प्रभु र बैंक अफ एसिया एनआइसी बैंकमा विलय भइसकेका छन्। उनी जनतामा सीईओ बनेर गएको केही समयमा नै जनता ग्लोबल आइएमई बैंकमा विलय भएको थियो।
उनले आफ्नो फेसबुकमा लामो स्टाटस लेखि आफ्नो स्वास्थ्यले साथ नदिएको स्पष्ट पारे पनि सञ्चालकसँग कुरा नमिल्दा उनले राजीनामा दिनुपरेको उच्च स्रोतको दाबी छ।