बालबालिकाले लामो समय अनलाइनमा कक्षा लिँदा भोलि विद्यालय र सिकाइप्रति वितृष्णा बढ्ने मात्रै होइन, आत्मविश्वास, सञ्चार, अन्तरक्रियाको कमीका साथै ‘मास फोबिया’ देखिन सक्छ।
कोरोना प्रकोप कहिलेसम्म रहन्छ, थाहा छैन। विश्व स्वास्थ्य संगठन, विभिन्न देशका स्वास्थ्य अनुसन्धान केन्द्र र विश्वविद्यालयले कोरोना भाइरस लामो समय हामीसँगै रहने आँकलन गरेका छन्। यसको मतलब स्कुल, कलेज वा जमघट र भीडभाड हुने अन्य स्थान पूर्ववत अवस्थामा फर्कन अझै समय लाग्नेछ।
अहिले अधिकांश सरकारी विद्यालय र क्याम्पसका भवन क्वारेन्टिनमा परिणत भएका छन्। कतिपयमा आइसोलेसन कक्ष निर्माण गरिएको छ। सरकारले चाहेर वा आफैं सुरक्षित भएर पनि नियमित पठनपाठन सुरु गर्न सक्ने अवस्था तत्काल देखिँदैन। त्यसैले विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढ्ने र पढाउने ‘अनलाइन मोडल’ लामो समयसम्म रहनेछ।
बालबालिकालाई घातक
चैत/वैशाख विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुने समय हो। यही समयमा लकडाउन भएपछि विद्यालयले डिजिटल नतिजा प्रकाशन गर्दै विद्यार्थीलाई कक्षा चढाए र अनलाइन पठनपाठन सुरु गरे। सहरका अधिकांश निजी विद्यालयले अनलाइन माध्यमबाट पढाइरहेका छन्। सरकारी विद्यालय र इन्टरनेटको पहुँचबाहिर रहेका निजी विद्यालयले भने कक्षा चलाउन सकेका छैनन्।
सहरी क्षेत्रका बालबालिका दैनिक एकाध घण्टा भर्चुअल कक्षामा सहभागी भइरहेका छन्। पठनपाठनका लागि सफ्टवेयर नहुँदा सिकाइ एकोहोरो भइरहेको छ। हाम्रो इन्टरनेटको गुणस्तरले पनि आपसी संवाद हुन दिइरहेको छैन।
विश्वको उत्कृष्ट शिक्षा प्रणाली भएका स्विडेन, फिनल्यान्ड, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स जस्ता देशमा कक्षा कोठामै हुने पढाइमा पनि प्राथमिक कक्षाका विद्यार्थीलाई गृहकार्य दिइँदैन। ती देशमा विद्यालय तहमा पास/फेल हुने खालको परीक्षासमेत हुँदैन। तर हाम्रोमा भर्चुअल कक्षाबाटै शिक्षकले गृहकार्य दिन थालेका छन्। आवश्यक सन्दर्भ सामग्रीको अभाव, एकोहोरो पढाइ त्यसमा झन् गृहकार्यले पढाइ बोझिलो बन्न थालेको छ।
जानकारहरुका अनुसार लामो समयदेखिको भर्चुअल कक्षा र बोझिलो पढाइले बालबालिकामा मनोसामाजिक असर देखिन थालेको छ। यो बढदै गएमा उनीहरुमा विद्यालय, पढाइ, सिकाइ र समाजप्रतिको दृष्टिकोण फेरिन सक्छ।
मनोविद् डा. गंगा पाठक विद्यार्थीको मनोविज्ञान र स्वभावका कारण पनि प्राथमिक तहमा अनलाइन कक्षा उपयुक्त नभएको बताउँछिन्। “सातामा एक वा दुई घण्टा त्यो पनि ‘नन एकेडेमिक’ विषयमा ठिकै हो,” उनी भन्छिन्, “दैनिक घण्टौं पढाउँदा बालबालिकामा पढाइप्रति नै वितृष्णा उत्पन्न हुन सक्छ, सिक्ने तरिका परिवर्तन हुन सक्छ।”
यसै पनि आधारभूत संरचना र दक्ष शिक्षकको कमी व्यहोरिरहेका हाम्रा विद्यालयलाई अनलाइन शिक्षा नौलो हो। अनलाइन पढाइ अन्तरक्रियात्मक हुँदैन– शिक्षक बोलिरहने विद्यार्थी सुन्ने मात्रै। शैक्षिक सत्रको सुरु भएकाले कतिपय विद्यार्थी र शिक्षकको देखभेट र चिनजान नै भएको छैन। यस्तो अवस्थामा शिक्षकलाई विद्यार्थीको मनोविज्ञान के थाहा?
सिकाइ प्रकृति भिन्न भएका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी हुँदैन। सफ्टवेयर र पाठ्यसामग्री अभावले सिकाइ बोझिलो बन्न सक्छ।
युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछाने ‘स्क्रिन एडिक्सन’ ले भोलि बालबालिकालाई कक्षाकोठामा फर्काउन समस्या हुन सक्ने बताउँछन्। “भर्चुअल माध्यमको बोझिलो पढाइले कक्षाकोठा, सहपाठी र शिक्षकसँग बसेर पढ्ने आदत हराउँदै जान्छ,” उनी भन्छन्, “त्यसैले भर्चुअल कक्षाको समय घटाएर ‘प्राकृतिक सिकाइ’ मा ध्यान दिनुपर्छ।”
अमिल्दो पाठ्यसामग्री
अनलाइन कक्षा सुरु भएसँगै पक्ष/विपक्षमा बहस भए। केहीले अनलाइन पढाइलाई निर्विकल्प माध्यम भने। अधिकांशले अनलाइन कक्षाबाट भोलि हुने मुख्य समस्या पन्छाएर इन्टरनेट र मोबाइलको पहुँच नहुनुलाई मात्र समस्या देखे। धेरैको तर्क छ– ‘इन्टरनेट, स्मार्टफोन, कम्प्युटर र बिजुलीमा सबै बालबालिकाको पहुँच नहुँदा यसले असमानता बढाउँछ। उपलब्ध प्रविधि गुणस्तरीय नहुँदा सिकाइ स्तरीय हुन सक्दैन।’
अनलाइन पढाइका लागि सबैभन्दा जरुरी अध्ययन सामग्री अर्थात् ‘कन्टेन्ट’ नेपालमा पर्याप्त छैन। केही निजी शैक्षिक संंस्थालाई अपवाद मान्ने हो भने अधिकांश सरकारी र निजी विद्यालयले अनलाइन कक्षा चलाइरहेका प्लेटफर्ममा रेकर्डिङ वा स्टोरेजको सुविधा छैन। यसका लागि अतिरिक्त क्लाउड स्पेस चाहिन्छ, जुन निःशुल्क उपलब्ध हुँदैन। अधिकांश विद्यालयसँग अनलाइन कक्षामा चाहिने पढाइमैत्री सफ्टवेयर छैन।
स्टोरेजको सुविधा नहुँदा कक्षामा पढाएको लिखित वा भिडियो सामग्री विद्यार्थीले कक्षापछि एक्लै वा अभिाभावकसँगै बसेर उपयोग गर्न सक्ने अवस्था छैन। सामान्यतया बालबालिकाले शिक्षकले पढाएको पाठ एकैपल्ट बुझ्दैनन्, अनलाइन कक्षामा त यो झन् गाह्रो हुन्छ।
कक्षामा सहपाठीसँगको छलफल, सम्बन्धित शिक्षकसँगको कुराकानी र रेखदेखको विकल्प खुला हुन्छ तर, अनलाइनमा यस्तो अवसर छैन। यसले सिकाइ क्रियाकलाप प्रभावकारी रुपमा अगाडि बढ्न दिँदैन। बालबालिकालाई असामाजिक बनाउँदै लैजान्छ।
उसो त इन्टरनेटमा अधिकांश पाठ्यसामाग्री उपलब्ध छन्। तर, ती सबै बालबालिकाका लागि उपयोगी हुँदैनन्। कतिपय सामग्री बालबालिकाको उमेर र परिवेश अनुकूल हुँदैनन्। इन्टरनेटमा पाइने अधिकांश सामग्री विकसित देश केन्द्रित हुन्छन्। ती सामग्रीले हाम्रो भौगोलिक, धार्मिक, लैंंगिक, सामाजिक, जातीय विविधतालाई सम्बोधन गर्दैनन्।
शिक्षाविद् प्रा. डा. विनय कुसियत स्रोतको अभाव र समाजसँग अमिल्दो सामग्री बालबालिकामा पढाइप्रति अरुचि हुने मुख्य कारण मान्छन्। “हाम्रै देशमा पनि फरक समाज, फरक भूगोल र फरक रहनसहन छ,” उनी भन्छन्, “तर, हामी देशभर एउटै सामग्रीमा पढाइरहेका छौं, यो कुनै पनि तह र उमेरको पढाइका लागि उपयुक्त शैली होइन।”
अमिल्दो पाठ्यसामग्रीले शिक्षाका माध्यमबाट प्राप्त हुने सामाजिकीकरणको उद्देश्य पूरा हुँदैन। अनलाइन पढाइले प्राकृतिक सिकाइ र बाहिरी जीवनलाई जोड्ने शिक्षाको मूल उद्देश्य कतै पनि छुँदैन। डा. कुसियत भन्छन्– “सन्दर्भ सामग्री र स्रोतको अभावबीच बालबालिकालाई पढ्न बाध्य बनाउनु पढाइप्रति वितृष्णा जगाउने ‘क्याट्लिस्ट’ बन्नु हो।”
मनोविद् भन्छन्, सातामा दुई दिन भए पनि स्कुल खोलौं
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा राखेर पढाइरहेको छ।
बाग्लुङको जैमिनी नगरपालिका–६ स्थित जनशिक्षित माविले शिक्षकलाई टोलमै पठाएर पढाउन थालेको छ। यसका लागि विद्यालयले टोलटोलमा रहेको सार्वजनिक स्थान, आमा समूहका भवन, सामुदायिक भवन र बसोवास नभएका घर रोजेको छ। तोकिएको ठाउँमा हरेक दिन शिक्षक जान्छन्, नजिकका विद्यार्थी आउँछन् र केहीबेर पढाइ हुन्छ।
पाल्पाको रैनादवी छहरा गाउँपालिका–२ दिगस्थित भगवती आधारभूत विद्यालयले पनि चौरमै राखेर पढाउन थालेको छ।
सरकारले पनि दूर शिक्षा प्रणालीमार्फत रेडियो, टेलिभिजनलगायतबाट पठनपाठन गराइरहेको छ। विकल्पका रूपमा जे उपाय अपनाइए पनि यी सबै केही समयका लागि मात्रै हुन्। यसले पढाइ भए पनि सिकाइ हुँदैन।
यस्तो संकटको अवस्थामा बालबालिकालाई पढाइप्रति रुचि जगाइराख्न के गर्ने त? डा. कुसियत बालबालिकाका लागि विद्यालय स्वयम्ले सहायक सामग्रीको व्यवस्था गर्नुपर्ने धारणा राख्छन्। उनी भन्छन्, “तत्कालका लागि विद्यालयले विद्यार्थीको उमेर र क्षमता अनुरुपको पाठ्यसामग्री बनाएर अगाडि बढ्नुपर्छ।”
मनोविद् डा. पाठक अनलाइन कक्षामा विद्यार्थीबीचको आपसी कुराकानी, शिक्षकसँगको अनौपचारिक छलफल लागि पनि समय छुट्याउनु उपयुक्त हुने बताउँछिन्। “एकोहोरो रटानभन्दा यस्ता क्रियाकलाप बालबालिकालाई रमाइलो लाग्छ,” उनी भन्छिन्– “तर, भर्चुअल कक्षालाई निर्विकल्प मान्नु हुँदैन, सुरक्षित भएर विद्यालय खोल्नैपर्छ।” पालो गरेर हप्तामा एक वा दुई दिन मात्रै भए पनि बालबालिकालाई विद्यालय जाने वातावरण बनाउनुपर्ने पाठकको सुझाव छ।
सरकारको दूर शिक्षा र निजी विद्यालयको अनलाइन कक्षा हुँदाहुँदै पनि थुप्रै बालबालिका यी सबै सुविधाबाट विमुख छन्। यसै पनि दुई खालको असमान शिक्षा प्रणाली भएको हाम्रो मुलुकमा यसले झन् खाडल बनाउन सक्छ।
“छुटेका विद्यार्थीका लागि विद्यालयले विशेष प्याकेज सामग्री बनाएर दिनुपर्ने जरुरी छ,” डा. कुसियत भन्छन्, “योचाहिँ शिक्षक, विद्यालयकै काम हो। यही बेलामा हो, शिक्षकले भूमिका निर्वाह गर्ने।”
युलेन्सका प्राचार्य लामिछाने अनलाइनबाट विद्यार्थीको सिकाइ मनोविज्ञान बुझ्न नसकिने हुँदा सुरक्षित तरिकाले कक्षाकोठाकै पढाइमा फर्कनुपर्ने बताउँछन्। “अनलाइन केही समयको राहत भए पनि बालबालिकाा लागि उपयुक्त सिकाइ शैली होइन,” उनी भन्छन्, “यसलाई कम गरेर सुरक्षित रुपमै प्राकृतिक पढाइमै फर्किनुपर्छ।”
पढ्नुस्ः
बालबालिकालाई उनीहरूकै स्वभावमा सिक्न दिऊँ
बालबालिका: महामारीको छायाले पछिसम्म सताउला ?
