सोमबार, भदौ ८, २०८३

भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

 |  सोमबार, भदौ ८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०८३

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्ने सकेको छैनन्। विभागले चालू आवको मासिक लक्ष्य अनुसार साउन महिनामा राजस्व संकलन गर्ने नसकेको हो। 

विभागको चालू आवको साउनको राजस्वको लक्ष्य ४३ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा ३९ अर्ब ९४ करोड रुपैयाँ असुली गरेको छ। यो मासिक लक्ष्यको ९०.९ प्रतिशत मात्रै राजस्व संकलन हो।  

गत आर्थिक वर्ष २०८२/८३ मा पनि विभागले पहिलो महिना साउनमा लक्ष्य अनुसार राजस्व संकलन गर्ने सकेको थिएन। गत आवको साउनमा ४५ अर्ब ७१ करोड रुपैयाँ लक्ष्य रहेकोमा ३७ अर्ब ९ करोड रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो। यो मासिक लक्ष्यको ८१.१ प्रतिशत मात्रै राजस्व संकलन हो। 

विभागका सूचना अधिकारी किशोर बर्तौलाले लक्ष्य अनुसार राजस्व संकलन गर्ने नसकिएको बताए। उनले लक्ष्य अनुसार राजस्व संकलन गर्नेका लागि आर्थिक गतिविधिहरु चलायमानलगायत आयातीत वस्तुहरु बढेमा मात्रै लक्ष्य पूरा गर्ने सकिने बताए। आगामी दिनमा लक्ष्य अनुसार राजस्व संकलन गर्नेका लागि कार्य योजना बनाएर लाग्ने विभागले जनाएको छ। 

सूचना अधिकारी बर्तौलाका अनुसार आयातको मात्रा बढ्दै गएपछि मात्रै राजस्व पनि बढ्दै

जाने भएकाले आयात बढ्नेमा राजस्व संकलनमा पनि वृद्धि हुन्छ। सीमाक्षेत्रमा हुने चोरी निकासि नियन्त्रण गर्दा केही मात्रामा राजस्व संकलनमा वृद्धि हुने देखिए पनि आयातीत बढ्नुपर्ने उनको भनाइ छ। आन्तरिक अर्थतन्त्र चलायमान भएमा राजस्वमा वृद्धि हुन्छ। 

मन्त्रालयले दिएको लक्ष्य अनुसार विभागले वार्षिक कार्ययोजना बनाएर अगाडि बढिरहेको बताउँदै सूचना अधिकारी बर्तौलाले लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्नुमा के समस्या छ भनेर खोजि नीति गरिरहेको बताए। 

सरकारले चालू अवका लागि १४ खर्ब पाँच अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। तर अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा भीष्मकुमार भुसाल कार्यक्षेत्रमा खटिनुअघि मन्त्रालयमा भेट गर्दै निर्देशन दिएका थिए।

‘व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्, अर्थमन्त्री वाग्लेले भने, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’

अर्थमन्त्री डा.वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर चुस्त र पारदर्शी बनाउन पनि निर्देशन दिए। भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामथ्र्यमा मुलुकले विकासको गति लिने उनको भनाइ छ। भन्सार र करको लक्ष्य पूरा गर्ने कदम चाल्दा व्यावसायिक वातावरण राम्रो बनाउने र प्रणालीको चुहावट टाल्नु मुख्य काम भएको उनले बताए।

अर्थमन्त्री डा वाग्लेले दुई महानिर्देशक र भन्सारमा नयाँ आएका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कार र प्रोत्साहन सुनिश्चित रहेको बारे अवगत गराउन आग्रह गरे।

प्रशासन संयन्त्रमा राम्रो र क्षमतावान् भनी चिनिएका अब्बल दुई सहसचिवलाई राज्यको प्रतिष्ठासँग जोडिएको निकायको नेतृत्वमा ल्याएको भन्दै अर्थमन्त्री वाग्लेले ६÷८ महिनामै नतिजा देखिनेमा आशावादी व्यक्त गरेका थिए।

प्रकाशित: Aug 24, 2026| 14:06 सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्