बिहीबार, मंसिर १८, २०८२

पर्सामा ५० प्रतिशत रोपाइँ

आगामी आव २०७७/०७८ मा ४६ हजार ५ सय हेक्टरमा धानखेती गरिने अनुमान छ ।
 |  सोमबार, असार १५, २०७७

जियालाल साह

जियालाल साह

सोमबार, असार १५, २०७७

पर्सा- पर्सामा ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले  धानको बिउ चाँडै हुर्कनुका साथै पानी परेकाले समयमै धान रोपाइँ गर्न सकिएको बताए।

National life

पर्सामा चालु आवमा ४५ हजार हेक्टरमा धानखेती गरिएकोमा प्रतिहेक्टर ४.८ मेट्रिक टनका दरले २ लाख १६ हजार मेट्रिक टन उत्पादन भएको थियो। आगामी आव २०७७/०७८ मा ४६ हजार ५ सय हेक्टरमा धानखेती गरिने अनुमान छ ।

प्रतिहेक्टर ५.५ मेट्रिक टनका हिसाबले २ लाख ५५ हजार ७ सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको डा. यादवले बताए।

माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर बिउ प्रतिस्थापन दर न्यून हुनु, सन्तुलन मलखादको प्रयोगमा कमी हुनु, मौसमी प्रतिकूलताजस्ता समस्याले उत्पादनमा कमी भएको प्रमुख डा. यादवको भनाइ छ।

उनका अनुसार सिँचाइ समस्या तथा जनशक्ति पलायन जस्ता समस्याले गर्दा पर्सामा कृषि फस्टाउन सकेको छैन।

Laxmi sunrise bank
kumari

यहाँका किसानले चाहेका बेला नहरको पानी प्रयोग गर्न सकेका छैनन्। सिँचाइका लागि पानी चाहिँदा नहर सुख्खा रहन्छ भने नचाहेको बेला नहरमा टन्नै पानी हुने किसान बताउँछन्।

पर्साका जानकीटोला, इनर्वासहित, पर्सा, बारा र रौतहटका ३८ हजार हेक्टर खेतमा सिँचाइका लागि भारतको त्रिवेणी भैंसालोटनमा निर्माण गरिएको नारायणी नदीको ब्यारेजबाट शाखा नहरबाट पानी आउने गरेको छ ।

भारतीय पक्षले यस वर्ष अहिलेसम्म पानी छाडेको छैन। मौसमको अनुकूलताका कारण मात्र समयमा किसानले धान रोप्न पाएका हुन्।

नेपाल–भारत सीमाक्षेत्र जानकीटोलादेखि रौतहटसम्म १ देखि १५ नम्बरसम्म ब्लक छुट्याई नहरमा पानी छाड्ने गरिएको छ। बारा र पर्सामा १ देखि १० नम्बर ब्लकसम्म नहर छ भने ११ देखि १५ ब्लक नम्बरको नहर रौतहटमा पर्छ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र पर्साले १७ औं राष्ट्रिय धान दिवस मनाएको छ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण थोरै व्यक्तिको उपस्थितिमा कृषि सामग्री अनुसन्धान केन्द्र पर्साको हातामा रहेको खेतमा रोपाइँ गरेर धान दिवस मनाइएको हो।

प्रकाशित: Jun 29, 2020| 15:05 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्