आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ नक्सा राष्ट्रवादका नाममा सरकारको नाटक, मित्रराष्ट्रको प्रतीकमाथि टिप्पणी गर्नु असंसदीय : कांग्रेस

नयाँ नक्सा राष्ट्रवादका नाममा सरकारको नाटक, मित्रराष्ट्रको प्रतीकमाथि टिप्पणी गर्नु असंसदीय : कांग्रेस

भारतले अतिक्रमण गरेको लिपुलेकसहितको भूभागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्सालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नाटक’को संज्ञा दिएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

भारतले अतिक्रमण गरेको लिपुलेकसहितको भूभाग समेटेर सरकारले सार्वजनिक गरेको नक्सालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नाटक’को संज्ञा दिएको छ।

जेठ ६ र ७ गते अनलाइनमार्फत सम्पन्न नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले उक्त निर्णय सुनाएको हो।

निर्णयमा भनिएको छ, ‘वर्तमान नेकपा नेतृत्वको ओली सरकारले राष्ट्रवादका नाममा, राष्ट्रियताका नाममा अनेक नाटक विगतमा जसरी मञ्चन गर्दै आएको थियो। अहिले पनि त्यही गरिरहेको छ। समस्याको तहसम्म पुगेर समाधानका प्रयास गर्नुभन्दा उत्तेजना फैलाउने गरी हलुका किसिमले अभिव्यक्ति दिने काम गरिरहेको छ।’

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको उत्तर दिने क्रममा संसदीय मर्यादा र अभ्यास विपरीत प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतीकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको कांग्रेसको दाबी छ।

‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय नेपाल र नेपालीहरुका लागि गम्भीर र आपत्तिजनक छ,’ निर्णयमा भनिएको छ, ‘केही वर्ष पहिले भारत र चीनले लिपुलेकबाट व्यावसायिक मार्ग खोल्ने सहमति गरेका समय नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशसँग आपत्ति प्रकट गर्नु भए पनि त्यसपछि आएको ओली नेतृत्वकै सरकार मौन बस्दा आजको परिणाम आएको हो।’

पहिलो पटक नेपाली भूमिसमेत समावेश गरी भारतले जारी गरेको नक्सालाई लिएर प्रधानमन्त्री ओलीले गत कात्तिकमा आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्न र यससँग उत्पन्न सबै विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता प्रकट गरेको जनाइएको छ।

‘यसको करिब आठ महिनापछि मात्र लिपुलेक, कालापानी, लिम्पियाधुरा समेत समेटिएको नक्सा सरकारले जारी गरेको छ । यसलाई कुनै पनि नेपालीले अन्यथा मान्न सक्दैन। तर नक्सा जारी गर्नासाथ महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास भइरहेको छ। लिपुलेक हुँदै व्यावसायिक मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालका लागि आपत्तिजनक छ भन्ने प्रतिष्ठानको निष्कर्ष छ,’ निर्णयमा भनिएको छ।

यसैगरी, सगरमाथाका विषयमा चिनियाँ पक्षबाट अनेक विवादास्पद टिप्पणी र दावीहरु समाचारहरुमा आएको प्रति सरकारको ध्यान नगएको कांग्रेसको बुझाइ छ।

‘गम्भीर विषयतर्फ सरकारको ध्यान गएको देखिँदैन । चीनसँगको सीमाका कतिपय स्थानमा समस्याहरु विगतदेखि नै छन्,’ निर्णयमा भनिएको छ, ‘तत्काल देखिएको लिपुलेक मार्ग र भारतसँग सीमा जोडिएका कतिपय अन्य जिल्लाको सीमा समस्यासहित उत्तर चीनतर्फ समेत रहेका सीमा समस्याहरुको स्थायी समाधान खोज्न शान्तिपूर्ण रुपले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्छ भन्ने प्रतिष्ठानको स्पष्ट धारणा छ । प्रतिष्ठानले यस विषयमा विशेषज्ञहरुसँग आवश्यक परामर्श र सम्वाद गरी समाधानका लागि उपयुक्त दृष्टिकोण प्रस्तुत गर्नेछ।’

 

प्रकाशित: May 21, 2020| 18:13 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।