काठमाडौं - बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ। सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ। आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो। चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
बन्दाबन्दीको समयमा अहिले ‘मास प्रिन्टर’ बाट छपाइ भइरहेको छ। बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैनन्। साना प्रिन्टरले थोरै संख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ। कोरोनाको जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको महानिर्देशक हमालले बताए।
बन्दाबन्दी पहिले झण्डै साढे चार लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा अझै तीन लाख छाप्न बाँकी छ। बाँकी अनुमतिपत्र आगामी असारभित्रमा छापिसक्ने योजना रहेको विभागले जनाएको छ।
छापिएका अनुमतिपत्र अहिले विभागमै रहेका छन्। बन्दाबन्दी सकिएपछि विभागले प्रदेश सरकारअन्तर्गतको अनुमतिपत्र यातायात व्यवस्था कार्यालय लैजानेछ र कार्यालयले सेवाग्राहीलाई वितरण गर्नेछ।