काठमाडौं- कोरोना महामारीका बेला संकटमा रहेका संसारभरका नेपालीको उद्धारका लागि नेपाली कांग्रेसले 'रेस्क्यु नेपाली एप' सार्वजनिक गरेको छ।
'संकटमा उद्धार मातृभूमिको कर्तव्य' उद्घोषसाथ नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एक एप सार्वजनिक गरेको हो।
नेपालसमेत ४३ देशबाट नेपाली समयअनुसार अपराह्न ३.०० बजे एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
‘नेपालमा सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत एप सार्वजनिक गर्नुभयो भने नेपाली जनसम्पर्क समिति रहेका ३५ देशमा सभापति एवं संयोजकहरुले तथा अन्य ७ देशमा सामाजिक भूमिकामा रहेका साथीहरूले’, शर्माले भनेका छन्।
नेपालबाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण संकलन र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन गर्ने मुख्य उद्देश्यले एप बनाइएको हो।
संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब दिने कांग्रेसले जनाएको छ।