बंगालको खाडीबाट आउने चक्रवाती तुफान अन्फनको असर पश्चिम बंगालमा देखिएको छ। तुफानको असरका कारण त्यस क्षेत्रमा तीव्र हावाहुरीसँगै भारी वर्षा भइरहेको छ।
स्थानीय पत्रकारका अनुसार पश्चिम बंगालको राजधानी कोलकातासहित सात जिल्लामा तीव्र हावासँगै भारी वर्षा सुरु भएको छ।
यसअघि तुफानबाट मानवीय क्षति हुन नदिन भारत तथा बंगलादेशको तटीय क्षेत्रबाट मानिसलाई हटाइएको छ। पश्चिम बंगालको तटीय क्षेत्रका तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
यस्तै, हावडा तथा सियालदह स्टेसनमा राखिएका रेललाई पटरी (लिक)मा बाधिएको छ। मजदूरलाई ल्याउने रेल बन्द गरिएका छन्। दक्षिण–पूर्वी रेलवेले भुवनेश्वर–दिल्ली बीचमा चल्ने रेलको रुट बदलिएको छ।
भारत तथा बगलादेशको सीमा क्षेत्रमा आज तुफान आउने बताइएको छ। बंगालको खाडीमा बनेको चक्रवाती तुफान अन्फन सोमबार दिउँसोपछि ‘सुपर साइक्लोन’मा परिणत भएको थियो।
मौसमविदले अम्फन दशककै सबैभन्दा ठूलो तुफान हुने बताएका छन्। उनीहरूका अनुसार यो तुफान १८५ किलोमिटर प्रतिघन्टाको गतिमा आउनेछ, जुन चक्रवाती तुफानको पाँचौं श्रेणीको बराबर हुनेछ।
यसअघि सन् १९९९ मा ओडिशामा आएको तुफानका कारण ९ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।
भारतको मौसम विभागले तटीय क्षेत्रमा ‘यलो अलर्ट’ जारी गरेको छ। उसले आगामी २४ घन्टासम्म दक्षिण बंगालको खाडीमा नजान आग्रह गरेको छ।
मौसम विभागका अनुसार यो तुफान बुधबार दिउँसो उत्तर–पश्चिम बंगालको खाडी, पश्चिम बंगाल तथा बंगलादेशको तट भएर जानेछ। विभागले भनेको छ, “त्यतिबेला यो गम्भीर चक्रवाती तुफान हुनेछ।”
भारत सरकारले तुफानपछि उद्धारका लागि २० भन्दा धेरै राहत टोली बनाएको सरकारी अधिकारीले बताएका छन् ।
नेपालमा कस्तो असर पार्ला?
नेपालमा अम्फन तुफानको प्रत्यक्ष असर भने नपर्ने मौसमविदले जनाएका छन्। यद्यपि, अप्रत्यक्ष असर भने देखिन थालेको मौसमविद्को भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् बरूण पौडेलले नेपालमा तुफानको अप्रत्यक्ष असरका कारण मौसम बदली भइरहेको बताएका छन्। “तुफानको असरले राजधानी काठमाडौंलगायत पूर्वी क्षेत्रमा बदली भइरहेको छ भने वर्षा हुने सम्भावना छ,” उनले भने।
तुफानको असर भोलि बेलुकासम्म देखिने र पर्सिबाट मौसम सुधार हुँदै जाने उनको भनाइ छ।
बीबीसीको सहयोगमा