काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग आग्रह गरेको छ।
अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरू उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको जनगुनासो आएको भन्दै महानगरपालिकाले सबै नाका सिल गर्न आग्रह गरेको हो।
महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग नाका सिल गर्न आग्रह गरेको प्रवक्ता समेत रहेका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
“बैठकले उपत्यकामा कोरोना संक्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाउने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ।
अत्यावश्यक कामको लागि उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए त्यस्ता व्यक्तिको प्रस्थान विन्दुमै कोरोना परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्यवस्तुको आपूर्ति व्यवस्था सहज बनाउन महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसलबाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसल दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने निर्णय पनि बैठकले गरेको छ।
पछिल्लो समय लकडाउनकै बीचमा बाहिरी जिल्लाबाट उपत्यका प्रवेश गरेकाहरूमा कोरोना संक्रमण देखिएको छ। जसले उपत्यकामा पनि कोरोनाको जोखिम बढाएको छ।