काठमाडौं - शान्ति विद्याश्रम मावि ललितपुरका प्रधानाध्यापक दिव्यमणी ज्ञवालीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर गरेको छ।
अख्तियारले ज्ञावालीसहित नेपाल प्रहरीका सई र नेपाल विद्युत प्राधिकरणका दुईजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर गरेको हो।
प्रअ ज्ञवालीले सेवा प्रवेश गर्दा आईएस्सी र बीएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ। ज्ञवालीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश भारतबाट इन्टरमिडियट परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरी वढुवासमेत लिएको अख्तियारले जनाको छ।
यस्तै नेपाल प्रहरीमा कार्यरत सई राजन सिंह भण्डारीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट हाइस्कुल परीक्षाको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी वढुवा भएको खुलेको अख्तियारले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौंडामा इलेक्ट्रिसियन पदमा कार्यरत शंकर थापा मगरले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमलेखगञ्ज बाराबाट कक्षा ५ उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी वढुवा भएको खुलेको अख्तियारले जनाएको छ।
यस्तै प्राधिकरणकै हेटौंडाका हेल्पर धनबहादुर रूम्बाले जनता माध्यमिक विद्यालय असनपुर सिराहाबाट कक्षा ८ उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कुल्ली पदमा स्थायी नियुक्ति लिई हेल्पर पदमा वढुवा भएको खुलेको अख्तियारले जनाएको छ।