काठमाडौं- नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री पहिलो पटक हवाईमार्गबाट नेपाल आइपुगको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट आज (मंगलबार) बिहान १८.८४ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन्।
सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ। जसमध्ये गत शनिबार स्थलमार्ग तातोपानी नाकाबाट ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।
सेनाले स्वास्थ्य सामग्री खरिद गर्न वैशाख ७ गते चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’लाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर (२ अर्ब २० करोड रुपैयाँ) अग्रिम भुक्तानी गरेको थियो ।
चिनियाँ भन्सार कार्यालयले क्लियरेन्समा कडाइ गरेपछि सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल ल्याउन ढिलाइ भएको हो।