बिहीबार, भदौ ४, २०८३

खाली हुँदै राष्ट्र बैंकको गभर्नर, नियुक्तिमा अन्योल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल भोलि (बुधबार) सकिँदैछ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल भोलि (बुधबार) सकिँदैछ। गभर्नरको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ गभर्नर नियुक्ति गर्नुपर्नेमा अघिल्लो दिनसम्म पनि भएको छैन। राष्ट्र बैंकको गभर्नर केही केही दिन खाली हुने देखिएको छ।

सामान्यतयाः कार्यकाल सकिनु एक महिनाअघि नै गभर्नर विदा बस्ने प्रचलन छ । तर, गभर्नर नेपालले भने कार्यकाल सकिनु एक दिन अघिसम्म पनि विदा लिएका छैनन् ।

गएको फागुन १५ गते अर्थमन्त्री डा.युवराज खतिवडाले चैत पाँच गतेअघि नै नयाँ गभर्नर नियुक्त हुने बताएका थिए। तर, सरकारले अहिलेसम्म पनि गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको छैन ।

प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्य लाभ गरिरहेकाले मन्त्रिपरिषद् बैठक बस्न सकिरहेको छैन। मन्त्रीपरिषद् बैठकले गभर्नरको समयावधि सकिनु एक महिनाअघि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति बनाउनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा छ।

समितिले गभर्नरको लागि तीनजनाको नाम सिफारिस गर्ने र मन्त्रीपरिषद् बैठकले तीमध्ये एकजनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था ऐनमा छ । तर, अहिलेसम्म उक्त समिति नै गठन हुन सकेको छैन।

नियमित प्रक्रियाबाट गभर्नर नियुक्ति सम्भव नभएकाले अब वरिष्ठताका आधारमा चिन्तामणि शिवाकोटीले कायममुकायम गभर्नरको जिम्मेवारी पाउनेछन् । तर, कामुले प्रशासनिकबाहेक अन्य काम गर्न पाउँदैनन्। अर्थात् उनले नोटमा हस्ताक्षर गर्न पाउँदैनन्।

प्रक्रिया सुरु भएपछि गभर्नर नियुक्तिका लागि समय भने लाग्दैन। मन्त्रीपरिषद् बैठकले समिति बनाएकै दिन वा भोलिपल्टै नयाँ गभर्नर नियुक्त हुने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

गभर्नर कसलाई बनाउने भन्ने विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री ओलीलाई आश्वस्त पारिसकेकाले गभर्नर नियुक्तिको लागि समय नलाग्ने अर्थमन्त्री निकट स्रोत बताउँछ। गभर्नरका लागि डा.चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा.मीनबहादुर श्रेष्ठ र राजन खनालको नाम चर्चामा छ ।

आफू गभर्नर हुँदा सहयोग गरेका अधिकारीलाई वा अर्थमन्त्री हुँदा सहयोग गरेका राजन खनाललाई गभर्नर नियुक्त गर्ने सोचमा अर्थमन्त्री डा.खतिवडा रहेको बताइन्छ। चिन्तामणि र मीनबहादुरका लागि पनि अर्थमन्त्रीलाई निकै दबाब रहेको स्रोतको दाबी छ ।

डा. श्रेष्ठ र खनालले अवकाश पाइसकेका छन् भने अधिकारी लगानी बोर्डमा सीईओ छन्। शिवाकोटी भने राष्ट्र बैंकमै डेपुटी गभर्नर छन्।

सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्दा राष्ट्र बैंकका एकजना डेपुटी गभर्नरलाई अनिवार्य रुपमा सिफारिस गर्नुपर्ने व्यवस्था छन्। राष्ट्र बैंकमा अहिले शिवकोटी र शिवराज श्रेष्ठ डेपुटी गभर्नर छन्।

गभर्नर राष्ट्र बैंककै कर्मचारी भए काम गर्न सहज हुने मनसाय बैंकरहरुले व्यक्त गर्दै आएका छन्। डेपुटी गभर्नर शिवाकोटी प्रधानमन्त्रीलाई ओली निकट मानिन्छ भने श्रेष्ठलाई प्रचण्ड निकट।

प्रकाशित: Mar 17, 2020| 07:22 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्