आइतबार, असोज २५, २०८३

बूढीगण्डकीमा बाढी: उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रमा जोखिममा परेका नागरिकको उद्धार, राहत वितरण तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको छ।

स्थानीय होटल व्यवसायी गोपाल लामाका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला किनारमा रहेका चार वटा गोठमा बसेका चार जना बेपत्ता भएका हुन्। उनीहरू गोठमा रहेको र बाढी आएपछि सम्पर्कविहीन भएको लामाले जानकारी दिएका छन्।

बाढीले गोरखाका विभिन्न स्थानमा रहेका पुलसमेत बगाएको छ। आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल, धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज, माछाखोला झोलुङ्गे पुल, ठाडो भर्‍याङको झोलुङ्गे पुल र खोर्लाबेशी झोलुङ्गे पुल बाढीले बगाएको जनाइएको छ।

गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको जानकारी दिएका छन्। उनका अनुसार घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ भने नदीको बहाव निरन्तर बढिरहेको छ।

बाढीको जोखिम बढिरहेका बेला प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उद्धार गर्ने र राहत उपलब्ध गराउने कामका लागि हेलिकप्टर परिचालन गरिएको छ।

चुमनुब्री गाउँपालिका - ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने ५ जना र धाउनेमा बस्ने तीन घरका ५ जना सम्पर्कविहीन बनेका स्थानीय दिपेश लामाले जानकारी दिएका छन्।  लामाका अनुसार उङ्गिलुङ खोलामा बिहान ४ बजे सुख्खा पहिरो खसेको थियो। पहिराका कारण खोला केही समय थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो। बाढीपछि १० जना सम्पर्कमा नरहेको लामाको भनाई छ।

आपत्कालीन सम्पर्क नम्बर
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सहयोग आवश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ। एम्बुलेन्स: १०२, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४,  जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०, सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८ रहेका छन्।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित: Oct 11, 2026| 11:42 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्