काठमाडौं– बलात्कार प्रयासको आरोप लागेर सय दिनभन्दा बढी थुनामा बसेका पूर्वसभामुख कृष्णबहादुर महरा दसैंको अष्टमीको दिन पक्राउ परेका थिए। दसैंको रमझमका बीच पक्राउ परेका महराको पूरा दसैं प्रहरी हिरासतमै बित्यो।
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको लागेपछि प्रहरीले उनलाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ गरेको थियो। पक्राउ पर्नुअघि नै उनले सभामुखबाट राजीनामा दिए पनि सरकारी निवास भने छाडेका थिएनन्।
महरालाई पक्राउ गर्न प्रहरी टोली बालुवाटार पुग्दा सभामुख निवासमा खसी काटेर दसैंको रमाइलो चल्दै थियो। सोही दिन जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी बालुवाटार पुगेको थियो।
उनलाई बा १८ च ४०० नम्बरको निजी रातो कारमा राखेर प्रहरीले लगेको थियो। महरालाई पक्राउ गर्न प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीसहितको टोली गएको थियो । उनलाई सुरुमा सिंहदरबार प्रहरी वृत्त नै लगिएको थियो।
बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले दुई दिनअघिमात्र महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको उल्लेख गरेकी थिइन्।
रोशनीका अनुसार असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।
घटना भएको पर्सीपल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको भनिएको महराको चस्माको टुक्रा, जुत्ताको तलुवालगायत सामान बरामद गरेको थियो।