काठमाडौं- विश्वका धनी व्यक्ति एलन मस्कले अमेरिकामा नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारलाई सहयोग गर्न जुलाईयता २७ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका छन्।
मध्यावधि निर्वाचन अघि ट्रम्पको लोकप्रियतामा कमि आएको र निर्वाचनमा पराजयको अनुमान भइरहेका बेला मस्क उनलाई सहयोग गर्न अगाडी आएका हुन्। विभिन्न पोल र रिपोर्टले मध्यावधि निर्वाचनमा ट्रम्पले सिनेटमा बहुमत गुमाउने अनुमान गरेका छन्।
मस्कले सन् २०२५ र २०२६ मा रिपब्लिकन पार्टीलाई कुल करिब ३६ करोड ६० लाख अमेरिकी डलर अर्थात् ३५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन्। यो रकम सन् २०२४ को निर्वाचनमा उनले दिएको चन्दाभन्दा बढी हो। मस्कको राजनीतिक संस्था ‘अमेरिका पीएसी’ ले रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार गरिरहेको छ।
संस्थाका करिब तीन हजार प्रचारक घरघरमा पुगेर मतदातालाई मतदान गर्न प्रोत्साहित गरिरहेका छन्। टेक्सासमा रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा ठूलो विज्ञापन अभियान सञ्चालन गरिएको छ। मस्कको संस्थाले लैङ्गिक पहिचान र समाजवादसम्बन्धी मुद्दालाई समेत चुनावी प्रचारमा प्राथमिकता दिएको छ। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका मस्क यसपटक भने पर्दापछाडि रहेर आर्थिक सहयोग र रणनीतिमार्फत सक्रिय छन्। पछिल्लो समय ट्रम्पसँग उनको सम्बन्धसमेत सुधारिएको देखिएको छ।