काठमाडौं- सेयर बजार परिसूचक नेप्से आइतबार १०८.२६ अंकले घटेको छ। आइतबार नेप्से २८१८.२६ अंकमा आइपुगेको हो। कारोबार समयमा ५.०३ प्रतिशतले ओरालो लागेको नेप्से ४० मिनेट बन्द भएर पुनः १ बजेर ४१ मिनेटमा कारोबार सुरु भएको थियो। कारोबार सुरु भएपछि बजार उकालो लाग्न थालेपनि अन्तमा फेरि ओरालो लागेर बन्द भयो।
ठूला लगानीकर्तालाई लगानीको लागि केन्द्रीय बैंकले कडाइ गरेपछि उनीहरुले सिमाभित्र ल्याउन सेयर बिक्री गर्दा बजार ओरालो लागेको हो। बजार ओरालो लागेपछि अत्तालिएका लगानीकर्ता भने राष्ट्र बैंकका गभर्नरले राजीनामा दिनुपर्ने भन्दै विज्ञप्तिसमेत निकालेका छन्।
आइतबारको नेप्सेमा भएको गिरावट इतिहासमा नै दोस्रो ठूलो गिरावट हो भने एक वर्षयताकै सबैभन्दा धेरै अंकको गिरावट हो। यसअघि गत पुस ५ गते बजार एकैदिन ९७ अंकले ओरालो लागेको थियो। २२६.१६ अंकले गिरावट आएको छ।
सातामै बजार साढे २ सयको हाराहारीमा ओरालो लागेपछि लगानीकर्ता अत्तालिएका थिए। गत भदौ १३ गते ३०४४ अंकमा रहेको सेयर परिसूचक आइतबार २८१८.७३ अंकमा अडिएको छ। यसदिन २१५ कम्पनीको ११ अर्ब २४ करोड रुपैयाँ कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यसदिन बैंकिङ समूह ४४.५१ बिन्दुले ओरालो लागेको छ भने निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५१९.४६ बिन्दुले ओरालो लाग्यो। यस्तै, जीवन बिमा समूह पनि ५११.७८ अंकले ओरालो लाग्दा जलविद्युत् समूह भने २१६.९५ अंक मात्रैले ओरालो लागेको छ।
आइतबारको कारोबारमा सबै समूहगत परिसूचक नकारात्मक रहेपनि सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, गुडविल फाइनान्स लगायत केही कम्पनीको भने सेयर मूल्य बढेको छ।