शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

 |  शनिबार, असोज १७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०८३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका आकांक्षी नैनसिंह महरले पार्टीको आन्तरिक एकता, गुटगत राजनीतिमुक्त संगठन, अवसरको न्यायोचित वितरण, प्रशिक्षणमा आधारित क्रियाशील सदस्यता र नयाँ पुस्ताको सहभागितालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा महरले कांग्रेसभित्र देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै पार्टी एकताका लागि आफूले लामो समयदेखि पहल गरे पनि ठोस परिणाम आउन नसकेको बताए। उनले पार्टी अहिले विभिन्न समूहमा विभाजित भएर महाधिवेशन प्रक्रियामा अघि बढिरहेको बताए।

उनले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा पार्टीभित्र केही अन्योल र विभाजनको अवस्था देखिएको छ। पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरे पनि अहिलेसम्म ठोस परिणाम आउन सकेको छैन। अब कांग्रेसलाई गुटगत राजनीतिबाट मुक्त गर्दै भुइँ तहका कार्यकर्ताको आवाज सुन्ने, अवसरको न्यायोचित वितरण गर्ने र नयाँ पुस्तालाई जोडेर अघि बढाउने मेरो प्रमुख एजेन्डा हो।’

महरले कांग्रेसको ठूलो पंक्ति भने पार्टीको आधिकारिक प्रक्रियामै रहेको दाबी गर्दै चारतारे झण्डा र रुखको पहिचानसँग जोडिएको कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।

उनले बदलिँदो सामाजिक, आर्थिक र प्राविधिक परिवेशअनुसार कांग्रेसले आफ्नो नीति र संगठनात्मक संरचनालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए। प्रविधिको तीव्र विकास, आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन, विश्वव्यापीकरण र नयाँ पुस्ताको बदलिँदो अपेक्षालाई सम्बोधन गर्ने नीति कांग्रेसले लिनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘कांग्रेसको ठूलो पंक्ति अहिले पनि पार्टीको आधिकारिक प्रक्रियामै छ। चारतारे झण्डा र रुखको पहिचान बोकेको कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ। त्यसका लागि बदलिँदो सामाजिक, आर्थिक र प्राविधिक परिवेशअनुसार पार्टीको नीति र संगठनात्मक संरचनालाई पुनः परिभाषित गर्न आवश्यक छ। आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन, विश्वव्यापीकरण र नयाँ पुस्ताका अपेक्षालाई सम्बोधन गर्ने गरी कांग्रेसले आफ्नो नीति निर्माण गर्नुपर्छ।’

महरले नयाँ पुस्ता, विशेषगरी जेन–जी र अल्फा पुस्तालाई पार्टीको राजनीतिक प्रक्रियासँग जोड्नुपर्नेमा जोड दिए। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजन गरेर कांग्रेसलाई अघि बढाउनुपर्ने उनले बताए।

महरले पार्टीको केन्द्र र भुइँ तहबीच दूरी बढेको भन्दै स्थानीय तहबाट आउने सुझाव र सल्लाहलाई पार्टी नेतृत्वले कार्यान्वयन गर्नुपर्ने बताए।

उनले कांग्रेसभित्र राजनीतिक नैतिकता, पारदर्शिता र चरित्रलाई प्राथमिकता दिनुपर्ने बताए। केन्द्रदेखि टोल तहसम्म नैतिक र जनतासँग प्रत्यक्ष जोडिएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।

कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गतेदेखि सुरु हुँदैछ। महाविधेशन उद्घाटनका लागि काठमाडौंको खुल्लामन्चमा मन्च निर्माण भइरहेको छ। साथै महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु भएको छ।

प्रकाशित: Oct 03, 2026| 15:36 शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्