काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा डा. वाग्ले शुक्रबार राति अमेरिका प्रस्थान गरेका हुन्।
अर्थमन्त्री डा. वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
अर्थ मन्त्रालयका अनुसार भेटवार्तामा द्विपक्षीय सहायता अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ।
साथै भदौ १० गतेको भोटेकोशी बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि वाग्लेले विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने बताइएको छ।
साथै, सडक र विद्युत् प्रसारण लाइनलगायत आर्थिक रूपमा महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी आकर्षित गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उपायबारे पनि प्रतिनिधिमण्डलले छलफल गर्ने अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन्।