काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आन्तरिक शक्ति संरचना र नेतृत्व चयनको शैलीमा उल्लेख्य परिवर्तन देखिएको छ।
विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्व स्थापित गर्नुका साथै पार्टीको नियमित महाधिवेशनलाई नयाँ विधान र नयाँ प्रतिनिधित्वको आधारमा अघि बढाउने बाटो खोलेको थियो। निर्वाचन आयोगले पनि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसबाट सुरु भएको संगठनात्मक रूपान्तरणले १५औं महाधिवेशनबाट संस्थागत रूप लिने देखिएको छ।
कांग्रेसमा लामो समयदेखि नेतृत्व चयनमा देखिँदै आएको समूहगत प्रतिस्पर्धाको शैली यसपटक केही फरक देखिएको छ। विगतमा सभापतिको उम्मेदवारसँगै उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यसम्मको प्यानल बनाएर चुनाव लड्ने अभ्यास बलियो थियो। तर १५औँ महाधिवेशनको तयारीमा अहिलेसम्म देखिएको अवस्था त्यसभन्दा फरक छ।
सभापतिमा गगन थापालाई चुनौती दिने स्पष्ट उम्मेदवारी देखिएको छैन भने उपसभापति र महामन्त्रीमा भने फरक–फरक नेताले व्यक्तिगत रूपमा दाबी अघि बढाइरहेका छन्। कांग्रेसभित्रै नेताहरूले प्यानल र गुटभन्दा व्यक्तिगत प्रतिस्पर्धाको वातावरण बन्न थालेको बताएका छन्। तर यसलाई कांग्रेसमा गुट पूर्ण रूपमा समाप्त भएको निष्कर्षका रूपमा बुझ्न भने हतार हुनेछ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको प्रक्रिया अगाडी बढाएको र पार्टीको विवाद अदालतमा विचाराधीन अवस्थामा रहेकाले काँग्रेसको यो पुरानो रोग अझै बाँकी नै छ भन्दा अन्यथा हुदैन।
विशेष महाधिवेशनले पुराना गुट समाप्त गरेको भन्दा पनि पुरानो गुटगत संरचनाको प्रभाव कमजोर बनाउँदै नेतृत्व प्रतिस्पर्धाको केन्द्रलाई व्यक्ति र महाधिवेशन प्रतिनिधितर्फ सारिदिएको अवस्था भने देखिएको छ। अब कुनै नेताले आफ्नो पक्षको शक्ति देखाउन मात्रै होइन, आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिनिधि निर्वाचित गराएर महाधिवेशनसम्म पुग्नुपर्ने भएको छ।
विशेष महाधिवेशनपछि आएको नयाँ व्यवस्थाको सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रभाव यही देखिन्छ। यसपटक केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने पुरानो व्यवस्था हटाइएको छ। त्यसैले सभापति, उपसभापति, महामन्त्री वा केन्द्रीय सदस्यका आकांक्षीले पहिले आफ्नै वडाबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि बन्नुपर्ने भएको छ। अहिले गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत शीर्ष नेताहरू पनि यही प्रक्रियाबाट प्रतिनिधि बनेर आएका छन्। यसले केन्द्रीय नेतृत्वका आकांक्षीलाई पार्टीको तल्लो तहसँग प्रत्यक्ष सम्बन्ध राख्न बाध्य बनाएको छ।
यसको अर्को प्रभाव पदाधिकारी निर्वाचनमा देखिन सक्छ। अब काठमाडौंमा बसेर केन्द्रीय समीकरण बनाउनुभन्दा आफ्नै निर्वाचन क्षेत्रका प्रतिनिधिको समर्थन जुटाउनु पहिलो राजनीतिक परीक्षा बनेको छ। त्यसैले महामन्त्री, उपसभापति र अन्य पदका आकांक्षीहरू जिल्ला तथा निर्वाचन क्षेत्रमा सक्रिय देखिएका छन्। करिब ७ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा व्यक्तिगत सम्बन्ध, क्षेत्रीय आधार, पुस्तागत प्रतिनिधित्व र समावेशी समूहको समर्थनले उम्मेदवारको शक्ति निर्धारण गर्ने अवस्था बनेको छ।
विशेष महाधिवेशनपछि संशोधित विधानले कांग्रेसको सांगठनिक संरचनालाई पनि विस्तार गरेको छ। ३५ वर्षमुनिका युवाको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्व, विभिन्न तहमा युवाको सहभागिता तथा पेसागत विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, सहिद परिवार, द्वन्द्वपीडित र विदेशस्थित जनसम्पर्क समितिलाई प्रतिनिधित्वको व्यवस्था गरिएको छ। केन्द्रीय कार्यसमिति पनि अघिल्लो संरचनाभन्दा ठूलो बनाइएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार नयाँ संरचना २३८ सदस्यीय हुने व्यवस्था गरिएको छ।
यस परिवर्तनले कांग्रेसको परम्परागत नेतृत्व संरचनामा दुईवटा नयाँ दबाब सिर्जना गरेको छ। पहिलो, पुरानो पुस्ताले मात्रै संगठनको माथिल्लो तह नियन्त्रण गर्ने अवस्था चुनौतीमा परेको छ। दोस्रो, नयाँ पुस्ता तथा विभिन्न सामाजिक र पेसागत समूहबाट आउने प्रतिनिधिले नेतृत्व चयनमा नयाँ मताधार बनाउन सक्ने सम्भावना बढेको छ। प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन युवा महाधिवेशन प्रतिनिधि सुनिश्चित गर्ने व्यवस्था भएकाले युवा सहभागिता यसपटक प्रत्यक्ष रूपमा देखिनेछ।
विशेष महाधिवेशनले कांग्रेसको नेतृत्वमा परिवर्तन गर्यो, विधान र प्रतिनिधित्वको ढाँचा पनि बदलियो। तर गुटको अन्त्य भयो कि गुटको स्वरूप मात्र फेरियो भन्ने प्रश्नको वास्तविक उत्तर १५औँ महाधिवेशनको निर्वाचनपछि मात्र स्पष्ट हुनेछ। अहिले सभापतिमा थापा केन्द्रमा देखिए पनि उपसभापति र महामन्त्रीमा आकांक्षीको संख्या बढिरहेको छ। एउटै सभापति समूहबाट आएका नेताहरूले पनि फरक पदमा स्वतन्त्र दाबी गर्न सक्ने अवस्था बनेको छ।
त्यसैले विशेष महाधिवेशनपछिको कांग्रेसलाई तत्कालै ‘गुटरहित कांग्रेस’ भन्नुभन्दा ‘गुटको पुरानो ढाँचा परिवर्तन हुँदै गरेको कांग्रेस’ भन्नु बढी तथ्यमा आधारित देखिन्छ। अबको महाधिवेशनले यो परिवर्तनलाई संस्थागत गर्छ कि फेरि नयाँ समूह र नयाँ समीकरण निर्माण हुन्छन् भन्ने नै कांग्रेसभित्रको मुख्य राजनीतिक प्रश्न हो। १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुँदैछ र त्यसपछि हुने नेतृत्व चयनले विशेष महाधिवेशनबाट सुरु भएको परिवर्तनको वास्तविक दिशा तय गर्नेछ।