काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको काठमाडौं महानगरपालिका वडा नम्बर ०९ को अधिवेशन शुक्रकार कांग्रेस र सनातन हिन्दु धर्मको प्रतिक ओमकार अंकित झण्डा राखेर स्वस्तीवाचन गर्दै सुरु भएको छ ।
नेपाली कांग्रेसको २०४० सालमा क्रियाशील सदस्यता लिएका ८६ वर्षीय कांग्रेसका नेता कुल प्रसाद चौलागाईंले शुक्रबार काठमाडौं वडा नम्बर ०९ को इकाइ अधिवेशनको उद्घाटन गरेका हुन् ।
शेरबहादुर देउवाले यसअघि आयोजित राष्ट्रिय भेलाको समापन कार्यक्रममा देउवाले आफू हिन्दु भएको उल्लेख गर्दै कांग्रेसको अबको झुकाव सनातन हिन्दु राष्ट्रतर्फ झुकाव भएको संकेत गरेका थिए । सोही अनुसार काठमाडौंमा देउवा समूहको कांग्रेस अधिवेशनमा पनि बटुकद्वारा स्वस्ती वाचन गर्दै अधिवेशनको उद्घाटन गरिएको हो ।
अधिवेशनबाट जगदिश कुइँकेलको सभापतित्वमा कार्यसमिति चयन गरिएको नवनिर्वाचित सचिव इन्दु लामिछानेले जानकारी दिएकी छन् । कार्यक्रममा युवा दिनेश विक्रम शाहले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउन कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका हुन् । उनले भने, “कांग्रेसको चार तारा स्वतन्त्र न्यायपालिका, भयमुक्त समाज, वाक स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको प्रतिक हुन् । नेपाल सदियौंदेखि वैदिक सनातन हिन्दु परम्पराको जगमा अघि बढिरहेको नेपाली समाजलाई सही दिशामा डोर्याउन नेपालको संविधानमा भएको धर्मनिरपेक्षताको विषय संशोधन गर्दै सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेस देउवा समूहको अधिवेशन देशभर १५ गतेदेखि सुरु भएको हो । देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ । यसअघि गगन कुमार थापा सभापति रहेको नेपाली कांग्रेसको अधिवेशन असोज ३ गतेदेखि सुरु भएको थियो । गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेशन यही असोज १८ गते उद्घाटन हुने भएको छ ।