शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस महाधिवेशन : युरोपबाट अंकित वलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन : युरोपबाट अंकित वलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

आयरल्यान्ड । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि अंकित वलीले उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि कांग्रेस राजनीति र सामाजिक सेवामा सक्रिय वलीले प्रवासमा रहेका नेपालीको अधिकार, लोकतान्त्रिक मूल्य-मान्यता र नेपालको समृद्धिलाई प्रमुख राजनीतिक एजेन्डा बनाएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सभापतिबाट राजनीतिक यात्रा थालेका वलीले नेपालमा विभिन्न वैचारिक तथा सामाजिक संघ-संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। सन् २०१७ मा आयरल्यान्ड पुगेका उनी त्यसयता प्रवासमा रहेका नेपालीसँग निरन्तर जोडिएर सामाजिक गतिविधिमा क्रियाशील छन्। उनले नेपाली जनसम्पर्क समिति आयरल्यान्डको सभापतिको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र लोकतान्त्रिक विचार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

गैरआवासीय नेपालीलाई केवल 'रेमिट्यान्स पठाउने माध्यम' मात्र नभई ज्ञान, सीप, पूँजी र प्रविधि बोकेका साझेदारका रूपमा हेर्नुपर्ने वलीको धारणा छ। उम्मेदवारीमार्फत विश्वभर फैलिएको नेपाली डायस्पोरालाई कांग्रेसको नीति निर्माण र नेपालको विकास प्रक्रियासँग संस्थागत रूपमा जोड्ने उनको लक्ष्य छ।

वलीका अनुसार उनको राजनीतिक दृष्टिकोण बीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारलाई आधुनिक र विश्वव्यापी नेपाली समुदायको यथार्थसँग जोड्नु हो। 'कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई सम्मान गर्दै प्रविधिको विकास, युवाका आकांक्षा र प्रवासी समुदायको बदलिँदो भूमिकालाई आत्मसात् गर्नुपर्छ,' उनले भने, "तब पार्टी थप आधुनिक, जनमुखी र परिणाममुखी बन्न सक्छ।'

निर्वाचित भएमा डायस्पोराको स्रोत-साधनलाई नेपालको समृद्धिमा परिचालन गर्ने, युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने तथा सुशासन र सामाजिक न्यायका सवाललाई सशक्त रूपमा उठाउने वलीको प्रतिबद्धता छ।

आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि पार्टी र समुदायको हितमा प्राप्त अनुभव उपयोग गर्ने अवसरका रूपमा व्याख्या गर्दै वली भन्छन्, 'प्रवासमा रहे पनि माटो, लोकतन्त्र र नेपाली समुदायप्रतिको जिम्मेवारीबाट टाढा हुन सकिँदैन। डायस्पोराको क्षमतालाई नेपालको विकाससँग जोड्दै कांग्रेस रूपान्तरणमा योगदान पुर्‍याउन मैले यो कदम चालेको हुँ।'

प्रकाशित: Oct 02, 2026| 14:24 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्