काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट एउटै परिवारका तीन जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्। तीन जना एउटै परिवार र एउटै समूदायबाट प्रतिनिधित्व गरिएकोप्रति विशेषगरी पहाडी मूलका कांग्रेस कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन्।
स्थानीय क्षेत्रीय प्रतिनिधिहरूले सहमतिको नाममा सीमित नेताहरूले एकलौटी रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको गुनासो गरेका छन्। कांग्रेस सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्रसमेत रहेको सर्लाही–४ मा भएको प्रतिनिधि छनोट प्रक्रियाप्रति उनीहरूले असन्तुष्टि जनाएका हुन्। थापा २०८२ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका थिए।
गत आइतबार असोज ११ गते धनकौलमा आयोजित क्षेत्रीय अधिवेशनमा सहमति जुटाउने भन्दै पाँच सदस्यीय समिति गठन गरिएको थियो। स्थानीय प्रतिनिधिहरूका अनुसार उक्त समितिले आफूअनुकूलका कार्यकर्तालाई केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा छनोट गरेको आरोप छ।
सार्वजनिक गरिएको नतिजाअनुसार सर्लाही कांग्रेसका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंह, उनका भाइ वीरेन्द्रप्रसाद सिंह र उनका छोरा सुधीर सिंह केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। एकै परिवारका तीन जना प्रतिनिधि चयन भएपछि स्थानीय नेता तथा कार्यकर्ताले पार्टीभित्र परिवारवाद हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन्।
एक क्षेत्रीय प्रतिनिधिले सहमतिका लागि गठन गरिएको समितिमा युवालाई सहभागी नगराइएको र निर्वाचनसमेत नगराइएको दाबी गरे। ‘सहमतिका लागि बनाइएको समितिमा युवालाई सामेल गरिएन, न निर्वाचन नै गराइयो। एकजुट देखाउने बहानामा एउटा समिति बनाएर सहमति गरेको भन्दै नाम घोषणा गरियो, जहाँ एकै परिवारका तीन सदस्य पनि महाधिवेशन प्रतिनिधिमा परे। एकजुट भएको भनिए पनि आगामी दिनमा यसले नै फुट ल्याउन सक्छ। यसको असर आगामी प्रदेशसभा र स्थानीय निर्वाचनमा देखिन सक्छ,’ उनले भने।
ती प्रतिनिधिका अनुसार पार्टीमा कार्यकर्तासँग पर्याप्त परामर्श नगरी निर्णय गर्ने प्रवृत्तिप्रति स्थानीयस्तरमा असन्तुष्टि छ। ‘नेताहरूले कार्यकर्तासँग परामर्श नगरी एकलौटी रूपमा आफ्नो निर्णय लाद्ने परम्परा रहेसम्म त्यसको असर निर्वाचनमा देखिन्छ। सभापति थापा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट पराजित हुनुका कारणमध्ये स्थानीय संगठन र नेतृत्वसँग जोडिएका विषय पनि हुन सक्छन्। आगामी निर्वाचनमा पनि कांग्रेसका लागि चुनौतीपूर्ण अवस्था आउन सक्छ,’ एक स्थानीय नेताले भने।
बदलिएको कांग्रेसको नारा केवल नारामा सिमित भइ पार्टीमा लग्नु भएको जनाउँदै सर्लाही क्षेत्र ४ का नेता तथा कार्यकर्ताले क्षेत्रीय अधिवेशनमा आफ्नो असन्तुष्टी व्यक्त गरेका छन्।
