आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक

नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डोटीका प्रभावशाली युवा नेता नरबहादुर खड्का (नरेश)ले खुला युवा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै विस्तृत प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्।

'नयाँ सोच, स्वच्छ राजनीति, सक्षम नेतृत्व र समृद्ध नेपालको संकल्प' भन्ने मुख्य नाराका साथ उनले महाधिवेशन प्रतिनिधिहरूमाझ आफ्नो उम्मेदवारी र सातबुँदे कार्यदिशा प्रस्तुत गरेका हुन्।

नेपालको लोकतान्त्रिक आन्दोलन, संविधानको रक्षा र जनताको अधिकार स्थापनामा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका गौरवपूर्ण रहेको उल्लेख गर्दै खड्काले अबको प्रमुख जिम्मेवारी पार्टीलाई समयअनुकूल, नीतिमुखी, प्रविधिमैत्री, युवामुखी र जनविश्वासयुक्त बनाउनु रहेको बताएका छन्।

व्यावसायिक अनुभव, व्यवस्थापकीय क्षमता र लोकतान्त्रिक मूल्यप्रतिको निष्ठाका साथ मैदानमा उत्रिएका खड्काले आफ्नो मुख्य उद्देश्य पद प्राप्ति मात्र नभई पार्टीलाई थप सक्षम, एकताबद्ध र भविष्य उन्मुख बनाउनु रहेको प्रष्ट पारे।

उनले 'बलियो संगठन, सक्षम नेतृत्व, समावेशी विकास र समृद्ध नेपाल'को दृष्टिकोण अघि सारेका छन्। नेता खड्काले सार्वजनिक गरेको प्रतिबद्धता-पत्रका सात मुख्य बुँदाहरूमा युवालाई नीति निर्माणको केन्द्रमा राख्ने, उद्यमशीलता र रोजगारी वृद्धि गर्ने, आधुनिक र सशक्त संगठन निर्माण गर्ने, सुशासन र स्वच्छ राजनीति कायम गर्ने, शिक्षा, सीप र नवप्रवर्तनमा लगानी बढाउने, समावेशी र एकताबद्ध कांग्रेस बनाउने तथा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षण गर्ने विषयहरू समेटेका छन्।

उनले पार्टीका सबै तहमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न स्थायी युवा नीति मञ्च स्थापना गर्ने, युवा उद्यमीका लागि लगानी, नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्ने तथा प्रविधिमैत्री व्यवस्थापन प्रणालीमार्फत कार्यकर्ताको तथ्याङ्क र संवादलाई डिजिटल माध्यमसँग जोड्ने योजना अघि सारेका छन्।

यस्तै, भ्रष्टाचारप्रति शून्य सहनशीलता, गुणस्तरीय तथा रोजगारमुखी शिक्षा, गुटबन्दीभन्दा माथि उठेर सबै समुदायको प्रतिनिधित्व हुने समावेशी पार्टी निर्माण र विधिको शासनप्रति दृढ प्रतिबद्धता उनका प्रमुख एजेण्डा रहेका छन्। आफ्नो कार्यशैली 'सुन्ने, सिक्ने र सहकार्य गर्ने' खालको हुने बताउँदै खड्काले निर्णयभन्दा पहिले संवाद र निर्णयपछि दृढ कार्यान्वयनको नीति लिने स्पष्ट पारे।

व्यक्तिगत स्वार्थभन्दा पार्टी र राष्ट्रको हितलाई सर्वोपरि राख्ने अठोट व्यक्त गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूले आफूलाई विजयी गराएमा युवा पुस्ताको आवाजलाई केन्द्रीय समितिसम्म प्रभावकारी रूपमा पुर्‍याउने र आगामी पुस्ताको विश्वास जित्ने आधुनिक तथा जनउत्तरदायी पार्टी निर्माणमा इमानदारीपूर्वक खट्ने प्रतिबद्धता जनाए।

'हाम्रो पुस्ताले केवल भविष्यको प्रतीक्षा गर्ने होइन, भविष्य निर्माण गर्ने जिम्मेवारी लिनुपर्छ,' नेता खड्काले भने। उनले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र लोकतान्त्रिक मूल्यसहित समृद्ध नेपाल निर्माणका लागि महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत र सहयोगको अपिलसमेत गरेका छन्।

प्रकाशित: Oct 04, 2026| 11:53 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्