काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुदैछ।
आज उद्घाटन समारोह हुने काँग्रेसको महाधिवेशनमा भोली र पर्सि बन्दसत्र हुने तालिका रहेको छ। महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान भने नहुने भएको छ। मतदान विद्युतीय मेसिनबाट नगरी ब्यालेट पेपरबाट नै गराउने भएको समितिले जनाएको छ। विद्युतीय मतदान विगतमा एमाले, रास्वपाको महाधिवेशनमा पनि धेरै समय लागेकाले काँग्रेसले ब्यालेट पेपरबाटै मतदान गर्न लागेको बताएको छ।
काँग्रेसले नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ। खुलामञ्चमा उद्घाटन समारोह र बन्दसत्र गर्ने तयारी गरेको काँग्रेसले मतदान भने राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा गर्ने तयारी गरेको छ।