मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपाध्यक्ष पक्का भएपछि राष्ट्रिय सभामा जान अस्वीकार, वामदेवको सांसद सपना अधुरै

उपाध्यक्ष पक्का भएपछि राष्ट्रिय सभामा जान अस्वीकार, वामदेवको सांसद सपना अधुरै

सचिवालयमा रहेका श्रेष्ठ र गौतमबाहेक सबै सांसद हुन्, र सबै प्रतिनिधिसभामा। अध्यक्षद्वयले सबै सचिवालय सदस्यलाई सांसद बनाउने तयारी पहिले नै गरेका थिए। गौतमलाई संसदमा लैजान पार्टीभित्र निकै छलफल पनि भएको हो। उनले पनि सांसद पदका लागि भरमग्दुर प्रयत्न गरे।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– नेकपा (एमाले) र माओवादी (केन्द्र)को गठबन्धनका बाबजुद गएको प्रतिनिधिसभा निर्वाचनमा दुई ‘हेभिवेट’ नेता पराजित भए, एमालेका वामदेव गौतम र माओवादीका नारायणकाजी श्रेष्ठ।

चुनावपछि पार्टी एकीकरण भयो। तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष नै भए। दुवै पार्टीका शीर्ष नेताहरु मिलाएर ९ सदस्यीय सचिवालय बनाइयो, जसमा गौतम र श्रेष्ठ पनि परे। श्रेष्ठले पार्टी प्रवक्ताको पनि जिम्मेवारी पाए। गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सचिवालय र स्थायी कमिटीबाट पारित भएको छ तर केन्द्रीय समितिबाट पारित हुन बाँकी छ।

सचिवालयमा रहेका धेरैजसो नेता पार्टीको मुख्य जिम्मेवारी र लाभको पदमा छन्। ओली पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पनि हुन्। प्रचण्डले हालैमात्र कार्यकारी अधिकार पाएका छन् पार्टीमा । विष्णु पौडेल महासचिव हुन् भने रामबहादुर थापा गृहमन्त्री छन्। ईश्वर पोखरेल उपप्रधान र रक्षामन्त्री छन्। तत्कालीन एमालेको नेतृत्व गरिसकेका झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेताको हैसियतमा छन्।

सचिवालयमा रहेका श्रेष्ठ र गौतमबाहेक सबै सांसद हुन्, र सबै प्रतिनिधिसभामा। अध्यक्षद्वयले सबै सचिवालय सदस्यलाई सांसद बनाउने तयारी पहिले नै गरेका थिए। गौतमलाई संसदमा लैजान पार्टीभित्र निकै छलफल पनि भएको हो। उनले पनि सांसद पदका लागि भरमग्दुर प्रयत्न गरे।

बर्दिया– १ बाट पराजित भएलगत्तै गौतमले तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाइदिने आश्वासन दिएर निर्वाचन क्षेत्र छाडिदिन आग्रह गरे। खनाल राष्ट्रपतिका आकांक्षी भए पनि गौतमलाई इलाममा गएर चुनाव उठ्न सजिलो थिएन। केही समयमै विद्या भण्डारी राष्ट्रपतिमा दोहोरिइन्।

यस्तै प्रस्ताव गौतमले माधवकुमार नेपाललाई पनि गरेका थिए।

तत्कालीन एमालेका तर्फबाट चुनाव जितेका सांसद नवराज सिलवाल विवादमा परेपछि गौतमले त्यहाँ पनि आफ्नो सम्भावना देखेका थिए। तर, त्यो प्रयास पनि सफल हुन सकेन।

बर्दिया–१ बाट हारेका गौतमले बर्दिया–२ मा पनि प्रयास गरेका थिए। तर, त्यहाँ पनि मेसो मिलेन।

त्यसपछि उनले पूर्वी रूकुमकी सांसद कमला रोक्कालाई फकाउन खोजे। तर, रोक्काले राजीनामा दिन अस्वीकार गरिन्।

गौतमले आफू सांसद बन्न हुम्लाका सांसद धनबहादुर बुढा र बैतडीका सांसद दामोदर भण्डारीलाई पनि मनाउने प्रयत्न गरेका थिए।

कञ्चनपुर–३ बाट झिनो मतले जितेका दीपकप्रकाश भट्टलाई राजदूत दिने शर्तमा मनाउने कोसिससमेत भएको थियो।

गौतम अघिल्लो पटक निर्वाचन जितेको र आफ्नो जन्म जिल्ला प्युठान पनि जान खोजे। वाम गठबन्धनकै सहयोगमा चुनाव जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा दिन लगाएर त्यहाँबाट निर्वाचन लड्ने उनको प्रयास थियो। तर, उनको प्रस्ताव राष्ट्रिय जनमोर्चाले अस्वीकार गरिदियो।

पछिल्लो प्रयास भने उनले काठमाडौं–७ मा लगाए । यस क्षेत्रका सांसद रामवीर मानन्धर राजीनामा दिन तयार पनि भएका थिए। तर, गौतमको यो प्रयास पनि सार्थक भएन।

गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचनमा पनि कास्की–२ बाट गौतम उम्मेदवार बन्ने चर्चा चलेको थियो। त्यसको खण्डन उनले पोखरा पुगेरै गरे। स्व. अधिकारीको शोकसभामा गौतमले भनेका थिए, ‘म रवीन्द्रको क्षेत्रबाट चुनाव लड्दिन। राष्ट्रिय सभामा लग्ने प्रस्ताव प्रधानमन्त्रीज्यूले गर्नुभएको छ। म त्यसमा विचार गर्छु।’

रवीन्द्र अधिकारीको निधन भएर खाली भएको उक्त क्षेत्रमा अधिकारी पत्नी विद्या भट्टराई निर्वाचित भइन् ।

प्रतिनिधिसभामा केही नलागेपछि गौतम राष्ट्रिय सभामा भए पनि जान तयार भएका थिए। उनको आकांक्षा प्रधानमन्त्रीसम्म हुने थियो।

राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा गत मंसिर २२ गते गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था भएमात्रै आफू राष्ट्रिय सभामा जाने बताएका थिए। प्रधानमन्त्री केपी ओलीले उनलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गरेका थिए।

‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा लैजान्छु’ भनेर भन्नुभएको हो। मैले कहाँ लैजानुहुन्छ भनेर सोधें। उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो। त्यसपछि मैले उहाँलाई भने– राष्ट्रियसभामा म त्यसबेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्। म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन,’ गौतमले अन्तर्वार्तामा भनेका थिए ।

गौतमले अस्वीकार गरे पनि आज (शुक्रबार)को नेकपा सचिवालय बैठकमा राष्ट्रिय सभाको उम्मेदवार बनाउने लिष्टमा उनको पनि नाम थियो । तर, बैठकबाट निर्णय भएर आउँदा उनको नाम परेन। सचिवालय बैठकमा राष्ट्रिय सभा उम्मेदवारका लागि गौतमको पनि नाम गएको पुष्टि प्रवक्ता श्रेष्ठले गरेका छन्। तर, श्रेष्ठले गौतम उम्मेदवार नबनेको विषयमा भने बोल्न चाहेनन्।

गौतमको सचिवालयका अनुसार गौतम स्वयम्ले राष्ट्रिय सभामा जान अस्वीकार गरेका हुन्। राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहेकोले उनी अनिच्छुक भएको सचिवालयले बतायो। उपाध्यक्ष बन्ने पक्का भएपछि उनले राष्ट्रिय सभामा जान जोडबल नगरेको सचिवालयको दाबी छ।

प्रकाशित: Jan 03, 2020| 08:26 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।