मंगलबार, भदौ २, २०८३

जनकपुर विमानस्थलमा पर्यटकलाई स्वागत

 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

जनकपुरधाम– नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । भ्रमण वर्ष सफल पार्न विभिन्न कार्यक्रमका साथ प्रदेश २ मा तयारी गरिएको छ ।

भ्रमण वर्षको पहिलो दिन बुधबार हवाईमार्ग हुँदै काठमाडौंबाट जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा स्वागत गरिएको छ । प्रदेश २ स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेमनारायण कँडेल विमानस्थल पुगेर पर्यटकहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए । पर्यटकका साथै जहाजका पाइलटलाई समेत विमानस्थलमा स्वागत गरिएको थियो ।

भ्रमण वर्षको पहिलो दिन प्रदेशस्थित आठवटै जिल्लाका सदरमुकाममा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० का प्रदेश समन्वय समितिका संयोजक मनिष झाले बताए ।

यसैगरी भ्रमण वर्षको अवसर पारेर जनकपुरस्थित दुधमतीमा वृक्षारोपण गरिएको छ भने जानकी मन्दिर प्राङ्गणमा २ हजार २० बेलुन उडाउने, २ हजार २० फलफूल मन्दिरमा चढाउने कार्यक्रमसमेत रहेको छ । यसका साथै साँझ जानकी मन्दिरमा २ हजार २० वटा दीप प्रज्वलन गरेर दीपावलीसमेत मनाइने बताइएको छ ।

यी हुन् प्रदेश २ का पर्यटकीय स्थल

२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भ्रमण वर्ष २०२० को लागि प्रदेश २ का आठवटै जिल्लामा समन्वय समिति गठन गरेर तयारी सुरु भएको छ । प्रदेश २ को आठवटै जिल्लामा एक मुख्य केन्द्र निर्धारण गरेर ५/५ वटा गन्तव्यस्थललाई पर्यटकी नगरीको रुपमा घोषणा गरिएको छ । पर्यटकहरुको स्वागतका लागि हरेका जिल्ला र गन्तव्यस्थलमा प्रवेशद्धार निर्माण गरिएको छ ।

भ्रमण वर्षमा प्रदेश २ को ऐतिहासिक धार्मिक स्थलहरु पर्यटकहरुका लागि आकर्षणको केन्द्र रहने छ । प्रदेशभित्र रहेका मठमन्दिर, तलाउ, सरोवर र ऐतिहासिक स्थल पर्याप्त संख्यामा रहकोले त्यसतर्फ पर्यटहरु आकर्षित हुने जिल्ला समन्वय समितिले जनाएको छ ।
भ्रमण वर्षका लागि जनकपुरको जानकी मन्दिरसहित यहाँका विभिन्न मठमन्दिर पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्ने समन्वय समितिका संयोजक मनिष झाले बताए ।

बारा जिल्लाको अमलेखगञ्जस्थित चुरियामाई स्थान, सिम्रौनगढ स्थित कंकालिनी मन्दिर, रानीबास, गढीमाईको महागढी माई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्र छन् ।

यसैगरी पर्साको रामभौरी भट्ठास्थित दुग्धेश्वर महादेव मन्दिर, बिरगंजको घडिअर्वा पोखरी, शंकचार्य गेट, महुवनको पारसनाथ मन्दिर र पर्सास्थित सुर्यगंगा आरतीलाई मुख्य गन्तव्य स्थलको रुपमा लिइएको छ ।

रौतहटमा गौरस्थित बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमतीस्थित नूनथर, चन्द्रनिगहरपुरको शहीद पार्क पनि पर्यटकीय गन्तव्यस्थल हो ।

धनुषा जनकपुरधामस्थित जानकी मन्दिर, मिथिला आर्ट, विवाह मण्डप, जनकपुर रेल्वे स्टेसन, गंगासागर तलाउ धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रमुख पर्यटकीय स्थल हुन् ।

महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पञ्चधुरा माईस्थान, रौजा बजारस्थित मुस्लिमहरुको रौजा मजार, टुटेश्वरस्थित टुटेश्वरनाथ मन्दिरलाई गन्तव्य स्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।

त्यस्तै, सर्लाहीमा सलेमपुरस्थित चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाधी ताल, लालबन्दीस्थित राधाकृष्ण मन्दिर, सगरनाथस्थित सागरनाथ जंगलसहितका वन क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा लिइएको छ ।

सप्तरीमा सखडास्थित छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिकास्थित लहजरा ताल, राजविराजको राजदेवी मन्दिर र सिरहामा बन्दीपुरस्थित बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पञ्चवती मन्दिर र लहानस्थित सलहेश फुलबारी लगायतका स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।

प्रकाशित: Jan 01, 2020| 09:08 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।