काठमाडौं- आज (सोमबार) स्वर्गीय राजा वीरेन्द्र विरविक्रम शाहको ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। शाहवंशीय दशौं राजा वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४ गते तत्कालिन राजा महेन्द्र शाह र इन्द्रराज्यलक्ष्मी देवी शाहको जेष्ठ पुत्रको रुपमा भएको थियो।
स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा देशका विभिन्न स्थानमा रहेका उनका शालिकमा माल्यार्पण गरिएको छ। उनको सम्झनाका ललितपुरको जावलाखेलमा रहेको शालिकमा उनका शुभचिन्तक तथा राजावादीहरुले स्मरण गर्दै पुष्पगुच्छा अर्पण गरेका छन्।
वीरेन्द्रको २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटमा भएको गोलीकाण्डमा परी निधन भएको थियो। सो घटनामा रानी ऐश्वर्य, उनका छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो।
नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा वीरेन्द्रको वंशविनाशलाई लिएका छन्। स्वर्गीय राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्वहाली गरेका थिए।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु पुर्याएर उनले शान्तिप्रेमी राजाको छवि बनाएका थिए। वीरेन्द्रको वंशनाश भएको जेठ १९ लाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन्।