धनगढी– कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडास्थित अमर माध्यमिक विद्यालयमा महायज्ञ संचालन हुने भएको छ।
आगामी माघ ११ गतेदेखि १८ गतेसम्म विराट सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने लागेको हो।
विद्यालयको शैक्षिक तथा भौतिक विकास गर्न र स्वर्ण जयन्ती मनाउन महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ।
समिति संयोजक स्थानीय अगुवा वीरबहादुर शाहले विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्नका लागि भौतिक पूर्वाधार तयार गर्न महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिए।
२०२६ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पठनपाठन भइरहेको छ।
महायज्ञ सञ्चालनका लागि ११ वटा उपसमिति गठन गरिएका छन्। जसअन्तर्गत प्रचारप्रसार उपसमिति संयोजकमा चक्र बोगटी, कलश संरक्षण तथा व्यवस्थापन उपसमिति संयोजकमा सिद्धराज जोशी, सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा दानबहादुर कुँवर, राजनीतिक दल समन्वय उपसमिति संयोजक कृष्णप्रसाद ओझा तोकिएका छन्।
यस्तै, आर्थिक सङ्कलन उपसमिति संयोजकमा हेमराज सुवेदी, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा बहादुर खड्का, मण्डप निर्माण उपसमिति संयोजकमा तुलसीराम चौधरी, वडा, गाउँपालिका, नगरपालिका समन्वय उपसमिति संयोजकमा वडा नम्बर ६ का वडाअध्यक्ष कमला शर्मा, सरसफाइ उपसमिति संयोजकमा रामविलाश चौधरी, योग उपसमिति संयोजकमा खगेन्द्रप्रसाद जोशी र सूचना तथा सञ्चार उपसमितिमा सुरत रावत ‘डोटेली कान्छा’लाई जिम्मेवारी दिइएको छ।
महायज्ञमा अमृत शरण देवाचार्यले श्रीमद्भागवत कथा वाचन गर्ने मूल आयोजक समितिले जनाएको छ।
महायज्ञ सञ्चालनका लागि २० लाख खर्च लाग्ने समितिको अनुमान छ।