सुर्खेत- सुर्खेत पश्चिमका चौकुनेवासीले क्याम्पस सञ्चालनका लागि डेढ करोड रकम संकलन गरेका छन्।
छोराछोरीलाई गाउँमै कृषि शिक्षा अध्ययन गराउने उद्देश्यकासाथ चौकुनेवासीले १ करोड ५५ लाख ९० हजार ९ सय ४४ रुपैयाँसंकलन गरेका छन्।
कर्णाली कृषि वन विज्ञान क्याम्पस सञ्चालन गर्न चौकुनेका २ हजार ८७ जनाले उक्त रकम उठाएका हुन्। क्याम्पस सञ्चालनका लागि लगाइएको महायज्ञ मार्फत् यो रकम उठेको हो।
‘छाक कटाएर भए पनि चौकुनेवासीले क्याम्पस खोल्न ठूलो शाहस गरे’ महायज्ञबाट संकलित आय–व्यय सार्वजनिक गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहनसिंह बडुवालले भने, ‘छोराछोरीलाई प्राबिधिक शिक्षा पढाउने सपना छिट्टै पुरा हुनेछ, अब हामी क्याम्पसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा जट्नेछौँ।’
क्याम्पस सञ्चालनका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी अगामी सैक्षिक सत्रबाट अध्ययन/अध्यापन सुरु गर्ने उनको भनाइ छ।
महायज्ञ मुल आयोजक समितिका संयोजक अमरबहादुर बुढाका अनुसार क्याम्पसका लागि ५८ रोपनी जग्गा खरिद गर्ने तयारी भइरहेको छ। क्याम्पसका लागि धामीडाँडा सामुदायिक वनले ४० बिगाह जमिन दान गरेको छ।
त्यस्तै समितिका कोषाध्यक्ष कमल जिसीले संकलिन रकममध्ये २१ लाख ४६ हजार एक सय ९७ रुपैयाँ खर्च भएको जानकारी दिए। जिसीका अनुसार रु.२९ लाख ३७ हजार ६ सय ८४ दान र ९१ लाख ९९ हजार ७ सय नगद संकलन भएको हो।
त्यस्तै दाताले कबोल गरेको ३४ लाख ५४ हजार २ सय ३५ रुपैयाँ क्याम्पसका खातामा जम्मा हुन बाँकी छ। कबोल रकम माघभित्र बैंकमा जम्मा भइसक्ने कोषाध्यक्ष जिसीको भनाइ छ।
चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले चौकुनेमा कृषि क्याम्पसको सफलतापछि अर्काे वनविज्ञान क्याम्पस समेत स्थापना गरिने बताए।
क्याम्पस सञ्चालनका लागि स्थानीयले कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएका थिए।