काठमाडौं– प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा हुने भएको छ। सत्तारुढ दल नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रदेश तीनको नाम र राजधानी टुंगो लगाएको हो।
३ नम्बर प्रदेश सभामा नेकपाको दुईतिहाइ बहुमत भएकोले पार्टीको निर्णयअनुसार नै नाम र राजधानी हुनेछ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नाम र राजधानीको विषयमा टुंगो लगाएको नेता झलनाथ खनालले जनाएका छन्। खनालका अनुसार सोही बमोजिमको निर्देशन नेकपा संसदीय दल प्रदेश ३ लाई दिइएको छ।
यसअघि नेकपा प्रदेशसभा संसदीय दलभित्रै राजधानीका विषयमा विवाद थियो। प्रदेश ३ को राजधानी भक्तपुर अथवा काभ्रे राख्ने विवाद चलेको थियो। नेकपाकै आदिवासी जनजाति सांसदहरुले भने प्रदेश ३ को नाम नेवा–ताम्सालिङ प्रदेश राख्न सुझाव दिएका थिए।