हुम्ला– हिउँदयाम सुरु भएसँगै जिल्लाभरका स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ।
चिसोबाट लाग्ने रुघाखोकीका कारण सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँ थला परेको छ। करिब पाँच सय घरधुरी रहेको सो गाउँका प्रत्येक घरमा दुई–तीन जना रुघाखोकीका बिरामी छन्।
ठेहे गाउँ जिल्लाकै सबैभन्दा बढी जनसंख्या र ठूलो बस्ती रहेको क्षेत्र हो।
चिसो सुरु भएसँगै उपचारका लागि आउने बिरामी बढेको ठेहे स्वास्थ्य चौकीले जनाएको छ। अहेव नर भण्डारीका अनुसार स्वास्थ्य चौकीमा दैनिक ४५–५० रुघाखोकीका बिरामी आउने गरेका छन्। उनका अनुसार ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी उपचारका लागि आउने गरेका छन्।
“ठेहेमा घरहरू एकापसमा जोडिएर बनेकाले एक जनालाई लागेको रोग गाउँमै फैलिएको छ,” उनले भने।
स्वास्थ्यचौकीमा बिरामीको चाप यही गतिमा बढे औषधी अभाव हुन सक्ने अवस्था देखिएको उनको भनाइ छ।
जिल्ला अस्पताल, हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको अस्पतालका चिकित्सक टसी लामाले जानकारी दिए।
जिल्लाका तल्लो क्षेत्रका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ।
रासस