काठमाडौं- मनकामना केबलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ। मनकामना दर्शन प्रालिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालनमा ल्याइने भएको हो।
‘कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेस्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने जानकारी गराउँदछौँ,’ मनकामना दर्शन प्रालिले भनेको छ।
कोरोना संक्रमणले गर्दा बन्द भएको सेवा पुनः सञ्चालन गर्न लागिएको हो। चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको यो सेवा लिन दैनिक सयौँको भिड लाग्दै आएको थियो।