काठमाडौं - काठमाडौं उपत्यकामा आज (शनिबार) यस वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ। आज उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शनिबार बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ डिग्री पुगेको हो। गत बिहीबार काठमाडौंको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो। शुक्रबार भने न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो।
मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको बताए। उनले राति आकाश खुले बिहानको तापक्रम घट्ने बताए। शनिबार भने तराईका केही स्थानमा हुस्सु लागेपनि देशभरीकै मौसम सफा रहने उनले जानकारी दिए।
यसैबीच महाशाखाले चेतावनी जारी गर्दै तराईमा हुस्सु/कुहिरो जारी नै रहेको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ।