जनकपुरधाम-प्रहरीलाई घुस दिन खोज्ने एक महिला बारा प्रहरीको फन्दामा परेकी छिन्। प्रहरीलाई घुस दिन खोज्ने वीरगंज महानगरपालिका–२ बस्ने ३५ वर्षीया अम्बिया खातुनलाई प्रहरीले पक्राउ गरेको हो।
भन्सार छलेर ल्याएको सामान छोड्न प्रहरीलाई २८ हजार रुपैयाँ घुस दिन खोजेपछि खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागर शम्शेर जबरा कमाण्डको टोलीले बसभित्र लुकाएर राखेको अवस्थामा २३ थान कुर्ता सुरुवाल, कपडा सात थान र सल २ थान बरामद गरेको थियो।
भन्सार छलेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएपछि खातुनले कामलाई सहज गरी दिन र कपडा छोडी दिन भनि प्रहरीलाई २८ हजार घुस दिन खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकी खातुनलाई घुस दिन खोजेको २८ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा बुझाएको छ। यसैगरी बरामद गरिएको कपडाहरु आवश्यक अनुन्धानको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।