जनकपुरधाम– नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रमेश घिमिरेले सरकारले स्वास्थ्यतर्फका कर्मचारीको मापदण्डविपरीत समायोजन गरेको आरोप लगाएका छन्।
स्वास्थ्यकर्मी संघ, धनुषाले शुक्रबार जनकपुरमा आयोजना गरेको पत्रकार अन्तर्क्रियामा उनले समायोजन ऐन २०७५ विपरित स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन गरिएको आरोप लगाए। उनले तोकिएको मापदण्डविपरीत गरिएको समायोजन तत्काल नसच्याइए आन्दोलनमा जाने चेतावनी दिए।
उनले संघीयसहित प्रदेश र स्थानीय सरकारसमेत स्वास्थ्यकर्मीको मागप्रति गम्भीर नरहेको बताए। स्वास्थ्यसम्बन्धी कार्यक्रमको लागि छुट्याइएको बजेट अन्य शीर्षकमा खर्च हुँदा समग्र स्वास्थ्य क्षेत्र नै प्रभावित बन्न पुगेको घिमिरेकाे भनाइ थियो। उनले स्वास्थ्य क्षेत्रको लागि विनियोजन गरिएको रकम प्रदेश सरकार र स्थानीय सरकारले भौतिक संरचना निर्माणमा खर्च गरेर आमनागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने काम गरेको जिकिर गरे।
धनुषाको स्थानीय तहमा जनप्रतिनिधिले स्वास्थ्यकर्मीलाई हाजिर हुन नदिएको र कतिपय स्वास्थ्य क्षेत्रका कर्मचारीले महिनौंदेखि तलब नपाउँदा कठिनाइमा रहेको संघका धनुषा जिल्ला अध्यक्ष रामगुलाम कर्णले बताए।
संघले स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न १७ बुँदे मागअगाडि सारेको छ। समायोजन भएर आएका स्वास्थ्यकर्मीलाई स्थानीय तहले निश्चित मापदण्डअनुरूप पदस्थापना गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई हाजिर गराउनुपर्ने र तलब–भत्ता नै नदिइ रमानापत्र दिएर मानसिक तनाव दिने कार्य बन्द हुनुपर्ने संघले माग गरेको छ।
यसैगरी अब आउने संघीय निजामती सेवा ऐनमा स्वास्थ्यकर्मीको माग सम्बोधन हुनुपर्ने, बाह्य स्रोतमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षाकोषको रकम सुरक्षित हुनुपर्ने लगायतका माग स्वास्थ्यकर्मी संघले अगाडि सारेको छ।