कञ्चनपुर– नेपाल भ्रमण वर्षकाे २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ।
भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने भएको हो।
नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखहरूको बैठकबाट पश्चिमी सीमानाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिए।
“नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवर्द्धनसँग मात्र नभएर देशको मानसम्मानसित जोडिएको छ। यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौं,” नगर प्रमुख विष्टले भने, “भीमदत्तमा प्रमुख जिल्ला अधिकारीसहितको कार्यालय बैठकले उद्घाटनको दिन नाकाबाट आउने पहिलो पर्यटकलाई सम्मान गर्ने, बजार परिक्रमा गराउने निर्णय गरिएको छ। त्यो दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ।”
नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा सांकेतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफासुग्घर र चिटिक्क बनाउने लगायतका निर्णयसमेत गरेको छ। भ्रमण वर्षकै अवसरमा नगरपालिकाको ‘ग्रिन सिटी, क्लिन सिटी’ को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो।
नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रूपमा मनाएको छ। जसअन्तर्गत पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड तथा रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डा गाड्नेलगायत काम गरिएका छन्।
यसैगरी भीमदत्तनगर–गड्डाचौकी सडकखण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ। अहिले सडक चौडा भइरहेको छ।
नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि क्लिन काष्ठमण्डपका अभियानकर्मी केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो।
भीमदत्त नगर बजारलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ। बजार क्षेत्रमा सरसफाइका लागि अभियान सञ्चालन गरिनेछ।
भीमदत्तमा भ्रमण वर्षका लागि सचिवालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। चुरे फेदका सबै धार्मिक तथा पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ। भ्रमण वर्षलाई मध्यनजर गरी पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।
“पर्यटकीय स्थानको प्रचारप्रसार, पूर्वाधार निर्माण, अध्ययन अनुसन्धानलगायत गरिएका छन्,” नगर प्रमुख विष्टले भने, “सबै क्षेत्रसित सहकार्य र साझेदारी गरी भ्रमण वर्ष मनाउन गइरहेका छौं।”
रासस