काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल तोकेको छ। आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकेको हो।
आयोगका अनुसार प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकेको छ।
त्यस्तै गण्डकी प्रदेशको मतदानस्थल कास्की जिल्लाको निर्वाचन कार्यालय पोखरामा तोकिएको छ भने प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा तोकिएको छ।
त्यसैगरी कर्णाली प्रदेशको मतदानस्थल सुर्खेत जिल्ला निर्वाचन कार्यालय र सुदूरपश्चिमको मतदानस्थल डोटी जिल्लाको सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा तोकिएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन्।
त्यसैगरी प्रदेश २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना, प्रदेश ३ मा प्रदेशसभा सदस्य ११० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन्।
त्यस्तै गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना, प्रदेश ५ मा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन्।
कर्णालीमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना र सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन्।
आयोगका अनुसार सातै वटा प्रदेशमा प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १,५०६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेका छन्।
माघ ९ गते राष्ट्रियसभाका २० सदस्यका लागि मतदान हुनेछ।
