काठमाडौं - पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई चार लाख रुपैयाँसहित पक्राउ गरेको छ।
भारतको रक्सौलबाट ना२९प ८५९५ नम्बरको मोटरसाइकलमा वीरगंजतर्फ आउँदै गरेको अवस्थामा रक्सौल–१० बस्ने ४४ वर्षीय सुशिल कुमार शर्मा र १८ वर्षीया सरोजनी कुमारीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई वीरगंज–१६ रजतजयन्ती चौकमा नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उनीहरुले वीरगंज–१० आदर्शनगरस्थित आकृति कस्मेटीक पसलका संचालक राज कुमार अग्रवाललाई उक्त रकम दिन जान लागेको बताएका थिए।
प्रहरीले अग्रवाललाईसमेत नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएको छ।
फरार अभियुक्त ६ वर्ष पछि पक्राउ
पर्सा जिल्ला अदालतबाट आगुऔषध मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।
बहुदरमाई नगरपालिका–२ का लक्ष्मी साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई लागुऔषध गाँजा र चरेश मुद्दामा जिल्ला अदालतले २०७० असार २७ गते एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो।
गाउँमै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी कैद भुक्तानीका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ।