काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीचको एकीकरण प्रक्रिया पुनः सुरु भएको छ। दुवै दल एकीकरणका लागि लामो समयदेखि छलफल चलिरहेको भए पनि केही समययता प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
केही दिनयता पार्टी एकीकरणको विषयमा छलफल सघन भएको र सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्ने तहमा पुगेको पार्टीका नेताहरुले बताएका छन् । पार्टी एकीकरणका लागि समाजवादी सरकारबाट बाहिरिनु पर्ने सर्त राजपाको थियो । समाजवादीले भने वरीयताक्रमलाई मुद्दा बनाएको थियो ।
राजपा र समाजवादीबीच पार्टी एकीकरणका विषयमा ९० प्रतिशत कुरा मिलिसकेको समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताउँदै आएका थिए। एकीकृत पार्टीको नाम ‘राष्ट्रिय समाजवादी पार्टी’ वा ‘समाजवादी जनता पार्टी’ राख्ने विषयमा दुबै दलबीच सहमति भएको थियो। यसैगरी, चुनाव चिन्हमा साइकल अथवा पञ्जा छाप राख्ने सहमति भएको थियो।
हालै सम्पन्न उपनिर्वाचनमा समाजवादी पार्टीले पञ्जा छाप चुनाव चिन्ह पाएको थियो । स्व.गजेन्द्रनारायण सिंहको पार्टीको पञ्जा छाप मधेशमा निकै चर्चित थियो। त्यसकारण पञ्जा छापमा राजपाका नेताहरुले कुनै असन्तुष्टि जनाउने सम्भावना छैन।
राजपा र समाजवादीबीच नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा व्याख्या गरी लोकतान्त्रिक समाजवादी एवं संघीयतावादलाई मूल सिद्धान्त मान्ने सहमति भइसकेको छ। पार्टी पदाधिकारी र केन्द्रीय समितिमा बराबरी संख्यामा उपस्थिति राख्ने सहमति पनि दुई पार्टीबीच भएको छ ।
मिल्न बाँकी विषय
राजपा र समाजवादीबीच नेताहरुको वरीयता क्रममा सहमति हुन बाँकी छ। पहिलो र दोस्रो वरीयतामा सहमति भएपनि तेस्रो वरीयताका विषयमा सहमति हुन सकेको छैन । पार्टी नेतृत्वको पहिलो वरीयतामा महन्थ ठाकुर र दोस्रोमा डा.बाबुराम भट्टराईलाई राख्ने सहमति भएको बताइएको छ।
तेस्रो वरीयताका लागि राजपाले जातीय क्लस्टर मिलाउन अशोक राईलाई प्रस्ताव गरेको थियो। तर, उपेन्द्र यादव पक्षधरले यादवलाई तेस्रो वरीयतामा राख्नुपर्ने अडान लिएको थियो।
राईलाई तेस्रो, यादवलाई चौथो र राजेन्द्र महतोलाई पाँचौं वरीयता दिने विषयमा छलफल अगाडि बढेको थियो। अब अशोक राईको वरीयता मिलेपछि राजपा र समाजवादीको वरीयता विवाद समाप्त हुनेछ।
यसैगरी राज्यको शासकीय स्वरुपमा राजपा र समाजवादीबीच थप छलफल हुन बाँकी थियो। समाजवादी पक्षधरले प्रत्यक्ष निर्वाचित राष्ट्रपति मोडललाई प्रस्ताव गरेका थिए भने राजपाले अहिलेकै कार्यकारी प्रधानमन्त्रीको मोडललाई कायम राख्न प्रस्ताव गरेका थिए।
के हुँदैछ ?
समाजवादी सरकारबाट बाहिरिएलगत्तै अध्यक्ष डा.बाबुराम भट्टराईले एकीकरणको विषयलाई प्राथमिकतामा राखेका छन्। राजपाका नेताहरुसँग भट्टराईको फोन संवाद नियमित हुन थालेको बताइएको छ।
समाजवादीका महासचिव रामसहाय यादवले एकीकरणका लागि बाटो ‘क्लियर’ भएकाले प्रक्रिया अगाडि बढेको बताए। पार्टीभित्र थप छलफल जारी रहेको जानकारी दिँदै यादवले भने, ‘एक–दुई दिनमै धेरै प्रक्रिया अगाडि बढ्नेछ। संघीय परिषद्, केन्द्रीय समिति बैठकलगायतको म्यान्डेटलाई हामीले पूरा गर्दैछौं।’
राजपा महासचिव केशव झाका अनुसार राजपाको तर्फबाट पनि एकीकरण प्रक्रियालाई अगाडि बढाउने गृहकार्य हुँदैछ। ‘बाँकी विषय टुंगो लागेपछि एकीकरणको घोषणा हुनेछ,’ महासचिव झाले भने, ‘अहिले समाजवादीले अग्रसरता देखाउनु पर्ने हो। उहाँहरुले देखाउँदै पनि हुनुहुन्छ।’
समाजवादीका तर्फबाट नेताहरुले तत्कालै औपचारिक वार्ता गरी सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरी सार्वजनिक गर्न राजपालाई आग्रह गरेका छन्। तर, राजपा अध्यक्ष मण्डलका केही अध्यक्ष काठमाडौं बाहिर रहेकोले राजपाका नेताहरुले दुई–तीन दिन पर्खिन आग्रह गरेका छन्। तर, अनौपचारिक छलफललाई भने अगाडि बढाउने कार्य बुधबारबाटै सुरु भएको छ।