काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताएका छन्।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको उत्तर दिने क्रममा प्रवक्ता बाँस्कोटाले सरकारसँग बहुमत रहेकाले विश्वासको मत लिन आवश्यक नपर्ने बताए।
‘प्रधानमन्त्रीको साथमा भएको बहुमत कायमै छ। त्यसैले विश्वासको मत लिनुपर्छ जस्तो लाग्दैन। लिनैपरे पनि के ठूलो कुरा भयो र ?’ उनले भने। संविधानले त्यस्तो व्यवस्था गरेको भए पनि नेकपाका लागि त्यो कुनै महाभारत नभएको टिप्पणी उनले गरे।