जनकपुरधाम - बुहारीको हत्या गरेको आरोपमा प्रहरीले धनुषाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था बस्ने २८ वर्षीया रानीदेवी पंजियारको हत्या गरेको आरोपमा जेठाजु श्रीप्रसाद पंजियारलाई पक्राउ गरेको हो।
रानीको बुधबार दिउँसो करिब एक बज धनुषाको बडहरीस्थित रेडक्रस भवन परिसरमा रहेको बगैंचामा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको श्रीप्रसादलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साह र ईलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले बुधबार राति करिब ९ बजे जनकपुरस्थित रेलवे स्टेशन नजिकबाट श्रीप्रसादलाई पक्राउ गरेको हो।
खुकुरी प्रहारबाट घाइते भएकी रानीले उपचारको क्रममा जेठाजु श्रीप्रसादले आफूमाथि आक्रमण गरेको प्रहरीसमक्ष बयान दिएकी थिइन्। रानीले दिएको बयानको आधारमा प्रहरीले श्रीप्रसादलाई पक्राउ गरेको हो।
पैसाको लेनदेन र जग्गासम्बन्धी विवादका कारण श्रीप्रसादले बुहारी रानीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए। वैदेशिक रोजगारीमा छँदा पठाएको पैसा माग्दा जालझेल गरेपछि श्रीप्रसादले बुहारी रानीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
‘तीन–चार वर्षअघि वैदेशिक रोजगारीमा रहेको बेला श्रीप्रसादले बुहारीलाई पटकपटक गरी पैसा पठाएको रहेको छ,’ बस्नेतले भने, ‘अहिले फेरि वैदेशिक रोजगारीमा जान पैसाको खाँचो भएपछि रानीसँग उसले पैसा फिर्ता गर्न भनेको थियो। यसै विषयमा दुईजनाबीच विवाद हुँदा उसले रानीको हत्या गरेको छ।’
पैसा लिन रानीले जेठाजु श्रीप्रसादलाई आफ्नी दिदीको घर धनुषाको बडहरी बोलाएकी थिइन्। श्रीप्रसादको सालोको साढुदाइको घरपनि बडहरी रहेकै कारण दुबैजना यसअघि पनि त्यहाँ जाने गरेका थिए।
बुहारीले पैसा लिन बडहरी बोलाएपछि बुधबार श्रीप्रसादले जनकपुरको एक पसलबाट चार सय रुपैयाँमा खुकुरी खरिद गरेर त्यहाँ पुगेको बस्नेतले बताए। ‘खुकुरी बोकेरै श्रीप्रसाद बडहरी पुगेको रहेछ, पैसा नदिँदा बुहारीको हत्या गर्ने योजनाअनुसार उसले त्यसो गरेको अनुसन्धानबाट खुलेको छ,’ बस्नेतले भने।
रानीको हत्यामा प्रयोग गरिएको हतियार, रगत लागेको श्रीप्रसादको लुगा, जुत्तालगायतका समाग्री घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट रानीको टाउको पछाडि, मुख, नाक तथा हातको कान्छी औंलासमेत काटिएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीलाई बडहरी नजिकै लालगढ अस्पतालमा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। उपचारकै क्रममा उनको बुधबार साढे चार बजे मृत्यु भएको थियो। रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीको सिलसिलामा अहिले मलेसियामा रहेका छन्।