काठमाडौं- मोडलिङका नाममा युवतीलाई भारत पुर्याउन खोज्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ।
मोडलिङका लागि भन्दै काठमाडौंबाट विराटनगर हुँदै युवतीलाई भारत पुर्याउन खोज्ने सात जनालाई महानगरीय प्रहरी परिसर टेकुले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा नवलपरासी कावासोती हुप्सेकोट–१ बस्ने २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराज नगरालिका–१४ बस्ने ४० वर्षीय उमेश शाह, दाङ घोराही–१० का २४ वर्षीया दीलकुमारी बुढामगर, सप्तरी सप्तकोशी नगरपालिका–११ बस्ने ३५ वर्षीया उमेश माझी, विराटनगर महानगरपालिका–८ बस्ने ५१ वर्षीय दिलिप पोदार, धादिङका खनियाबास गाउपालिका घर भई हाल काठमाडौं सितापाईला बस्ने २३ वर्षीया प्रेमा तामाङ र सुनसरीगढी गाउपालिका–१ बस्ने ३७ वर्षीय रञ्जित चौधरी रहेका छन्।
युवतीलाई भारतमा एक धार्मिक गुरुकोमा लग्न लागेको खुलेको प्रहरी उपरीक्षक अशोक सिंहले बताए। युवतीलाई गरिएको व्यवहार र अनेक सोधपुछबाट उनी ठूलै जोखिममा पर्न सक्ने आशंका प्रहरीले गरेको छ।
परिसरका डिएसपी होबिन्द्र बोगटीले केही समयअघि काठमाडौंमा आयोजित ‘र्याम्प सो’ मा भाग लिएकी युवतीलाई भारत लैजाने योजनाअनुसार विराटनगर पुर्याउन लागेको बताए ।
पक्राउ परेकामध्ये कृष्ण र प्रेममाया पति पत्नि हुन्। उनीहरुले युवती मिलाईदिए बापत पाँच लाख रुपैयाँ पाउने आश्वासन पाएको बोगटीले सुनाए।
पक्राउ परेकालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
चोरीका ४० मोटरसाईकलसहित १२ पक्राउ
यस्तै प्रहरीले काठमाडौंलगायत विभिन्न ठाउबाट चोरीका ४० वटा मोटरसाईकलसहित १२ जनालाई सार्वजनिक गरेको छ।
प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुकाई सार्वजनिक गरेको हो। राजधानीका विभिन्न स्थानबाट चोरी गरि राजधानी बाहिर लैजान लागेको अवस्थामा १५ दिनको अवधिमा उक्त मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।
साथै पत्रकार सम्मेलनमा प्रहरीले भन्सार छली गरेर ल्याइएको ५२ लाख बराबरको बिभिन्न सामाग्रीहरु पनि सार्वजनिक गरेको छ।
स्वयम्भू प्रहरी बृत्तले स्थानीय हरिबहादुर श्रेष्ठको घरमा लुकाई राखेको अवस्थामा आईप्याड, मोबाईललगायतका सामाग्री बरामद गरेको जनाएको छ।