काठमाडौं - सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो।
सृष्टिको मृत्यु भएको भोलिपल्टै मङ्गलबार बिहान चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा छोरालाई विद्यालय पुर्याउन हिँडेका अर्जुन केसीको सवारी दुर्घटनामा मृत्यु भयो । नम्बर नखुलेको सवारीले मोटरसाइकलमा रहेका अर्जुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो भने छोरा गम्भीर घाइते भए।
यी केबल प्रतिनिधिमूलक घटनामात्र हुन्। काठमाडौं उपत्यकामा सवारी दुर्घटनाका कारण कैयौँले अकालमा ज्यान गुमाउनुपरेको छ। चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट ७६ जनाले ज्यान गुमाएका छन् जसमा ६० पुरुष र १६ महिला छन्। मृत्यु भएकामध्ये पैदलयात्रु ३२, मोटरसाइकल तथा स्कुटर दुर्घटना ३४, ट्रक तीन, साइकल एक, कार एक र बसबाट पाँच रहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश दुर्घटना तीव्रगति र चालकको लापरबाही कारण हुने गरेको बताउँछन्।
पैदलयात्रुले जथाभावीरुपमा बाटो काट्दा पनि सवारी दुर्घटना बढेको उनी बताउँछन्। बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले बर्षेनी सवारी साधन दुर्घटना र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। उपत्यकामा पाँच महिनाको अवधिमा नौ हजार ६९८ सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा परेकामध्ये सबैभन्दा धेरै तीन हजार ७६९ मोटरसाइकल र स्कुटर रहेका छन्।
यस्तै कार, जीप भ्यान तीन हजार ७४०, बस एक हजार २४१, ट्रक, टिपर ९२२, माइक्रो १५६, टेम्पो ७३ र शारीरिक शक्तिबाट चल्ने ६७ सवारी साधन दुर्घटनामा परेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका सडकमा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगरी जथाभावीरुपमा बाटो काट्दा धेरै दुर्घटना हुने गरेको बताउँछन्।
उपत्यकामा भएका खाल्डाखुल्डी पुर्दै ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा समिति बनाएर काम गरिएको छ। उक्त समितिले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने, करिडोरको विस्तार गर्ने र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम गर्दछ। बाटो विस्तार र सडकमा भएका खाल्डाखुल्डी पुरेसँगै सवारी दुर्घटनामा कमी हुने लक्ष्य सरकारले लिएको छ।
उपत्यकामा आव २०७४/०७५ मा १९४ र आव २०७५/०७६ मा २५४ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो। त्यस्तै यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौं उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन्।