मंगलबार, भदौ २, २०८३

महिला बेचबिखनमा सामाजिक सञ्जाल 'हतियार'

भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।

बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको जनाएको हो ।

“बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्, “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।”

भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुग्ने गरेको पनि उनले सुनाइन् । कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।

“पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ”, संयोजक भट्टले भनिन्, “स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो ।”

माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन् ।

“भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढी हुँदैछ”, उनले भनिन्, “काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ ।”

कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उनले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिइन् । “वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन्”, उनले भनिन्, “वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ ।”

सन् २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ ।

“बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ”, भट्टले भन्नुभयो, “घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन् ।”

त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ ।

उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौँ लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताइन् ।

प्रकाशित: Dec 26, 2019| 05:47 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।