मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राज्यले धार्मिक आधारमा कसैलाई नागरिक अधिकार दिँदैनः मन्त्री बाँस्कोटा

राज्यले धार्मिक आधारमा कसैलाई नागरिक अधिकार दिँदैनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यले धर्मको आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने बताएका छन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यले धर्मको आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने बताएका छन्।

बनेपा–पनौती ख्रीष्टियान समुदायद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नागरिकले आफूले चाहेको धर्म मान्न पाउने तर राज्यले धार्मिक आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने स्पष्ट पारे।

उनले भने, ‘नेपाली नागरिकलाई धार्मिक स्वतन्त्रता छ, संविधानले पनि त्यो प्रत्याभूति गरेको छ तर राज्यले धार्मिक आधारमा छुट्टै नागरिक अधिकार भने दिँदैन।’ उनले धर्मका आधारमा राज्यले कसैप्रति दमन नगर्ने पनि बताए।

‘अतिक्रमण र द्वन्द्व निम्त्याउने गतिविधि कसैले पनि गर्नु हुँदैन, राज्य, व्यक्ति वा धार्मिक समुदायले कसैप्रति जबरर्जस्ती दृष्टिकोण राख्न मिल्दैन’ उनले भने।

मन्त्री बाँस्कोटाले पुरातनवादी दृष्टिकोणलाई आधार बनाएर अर्को धर्म र सम्प्रदायप्रति अनास्था फैलाउन नहुने बताए। उनले भने, ‘हाम्रो समाजमा हिन्दू, क्रिश्चियन तथा अन्य धर्म समुदायभित्र खराब व्यक्ति हुन सक्छन्, अवशेषका रूपमा रहेको सामन्तवादी उत्पादन सम्बन्धका कारण कहिलेकहीँ धर्ममा केही सङ्कीर्णता देखापरेको मात्रै हो।’

धर्मको सारतत्व मानव जातिको कल्याण, अहिंसा, सामाजिक न्याय र सहिष्णुता भएकाले एक धर्मले अर्काे धर्मलाई ‘छिः छिः दुरदुर’ गर्न नहुने उनको धारणा थियो।

सरकारका प्रवक्ता बाँस्कोटाले नेपालमा १० धर्म–सम्प्रदायका मानिस बस्ने भएकाले सबैप्रति राज्यको सम्मान र समान व्यवहार रहने बताए।

‘कसैको निजी आस्था र धार्मिक स्वतन्त्रताप्रति राज्यले हस्तक्षेप गर्दैन, हाम्रोमा कहिल्यै पनि धार्मिक द्वन्द्व भएको छैन र नागरिकले पनि त्यसलाई अस्वीकार गर्नुपर्छ’, उनले भने।

नेपाल बुद्धधर्मको जननी तथा ऋषिमुनिको देश भएको बताउँदै उनले धर्म आफैँले कुनै मानव जातिविरुद्ध अशान्ति फैलाउन नहुनेमा जोड दिए।
मन्त्री बाँस्कोटाले धार्मिक कट्टरताले संसारमा ठूला समस्या निम्तिने गरेको स्मरण गराउँदै यसबाट सचेत रहन सबैमा आग्रह गरे।

उनले भने, ‘नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभौगोलिक एउटा सिङ्गो सुन्दर देश हो, जहाँ जुनसकै धर्म मान्नेले पनि नेपाल देश घुम्न सक्छ र घुम्नुपर्छ, यसको संस्कृति फैलाउनुपर्छ।’

उनले क्रिश्चियन धार्मिक सम्प्रदायलाई आफूलाई अलग्गै नठान्न आग्रह गर्दै सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्याउन आग्रह गरे। सो अवसरमा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेलगायतले ख्रीष्ट जन्मोत्सवको शुभकामना दिएका थिए। रासस

प्रकाशित: Dec 25, 2019| 14:35 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।