काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको गुटगत विवाद अझै सुल्झिएको छैन। आन्तरिक विवाद नमिल्दा केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेका कारण केन्द्रीय समिति बैठक बस्न नसकेको हो।
आन्तरिक विवाद मिलाउने भनेर १० पुस (बिहीबार)सम्मका लागि स्थगित गरिएको बैठक पुनः शुक्रबारसम्मको लागि सारिएको छ।
आन्तरिक विवाद मिलाउन यसअघि पटकपटक केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ।
पार्टी महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग गठन र भातृ संगठनको भागवण्डाका विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न सकेको छैन। सहमतिका लागि बुधबार पनि प्रयास भएको थियो।
तर, सहमति जुट्न नसक्दा बैठक सारिएको हो। मंसिर २६ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षले बहिस्कार गर्दै आएका छन्।