काठमाडौं- एक युवतीलाई भारत लैजान खोज्ने सातजना पक्राउ परेका छन्। उनीहरूले ती युवतीलाई काठमाडौंबाट विराटनगर हुँदै भारत लैजान खोजेका थिए।
युवतीलाई भारतमा एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिने योजना रहेको उनका आफन्तको आशंका छ। तर प्रहरीले यसरबारे केही बताएको छैन।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीका अनुसार युवतीको प्रहरीले उद्दार गरेको छ भने अरु सात जनालाई विराटनगरबाट पक्राउ गरिएको छ।
‘घट्नाबारे अनुसन्धान भइरहेको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिन्छाैँ’, परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले भने।
केही समयअघि काठमाडौंमा आयोजित ‘र्याम्प सो’ मा भाग लिएकी युवतीलाई भारत लैजाने योजना अनुसार विराटनगर पुर्याइएको प्रहरीले जनाएको छ।
आफूलाई भारतमा रहेका एकजना धार्मिक बाबाको आश्रममा लैजाने योजनाबारे थाहा पाएपछि युवतीले प्रहरीलाई खबर गरेकी थिइन्।