काठमाडौं– समाजवादी पार्टी नेपालका मन्त्रीले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै छ। विगतमा संविधान संशोधनलगायत नेकपासँग भएको सहमति कार्यान्वयन नभएपछि सरकारमा बसिरहनुको औचित्य नभएको ठहर गर्दै समाजवादी बाहिरिएको हो।
सरकार छाड्नेबित्तिकै दिएको एउटा अन्तर्वार्तामा समाजवादीका अध्यक्ष उपेन्द्र यादवले ‘प्रधानमन्त्रीले सरकार छाडोस् भन्ने चाहेकाले’ बाहिरिएको बताएका छन्। उनको यो भनाइले अब समाजवादी र नेकपाको गठबन्धन कायमै रहने सम्भावना न्यून छ।
यतिबेला प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)चाहिँ सत्तारूढ नेकपासँग नजिकिएको छ। राजपाले अघिल्लो साता नेकपासँग २ बुँदे सम्झौता गरेको छ। आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा दुई दलबीच गठबन्धन गर्ने सहमति भइसकेको छ ।
यस्तै, नेकपाले राजपालाई संघीय सरकारमा सहभागिताका लागि बाटो खुला गरिदिएको छ। राजपासँगको सहमतिलगत्तै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
राजपा सरकारमा सहभागी भए आफूहरु स्वागत गर्न तयार रहेको दाबी गर्दै मन्त्री बाँस्काटोले भनेका थिए, ‘उहाँहरुलाई स्वागत छ। उहाँहरुका लागि दुई–तीनवटा मन्त्रालय छोड्नुपर्ने कुरा न हो। त्यो त हामी गरिहाल्छौं।’ मन्त्री बाँस्कोटाले राष्ट्र निर्माणका लागि राजपा सरकारमा सहभागी हुनुपर्ने बताउँदै आगामी दिनमा पनि सहकार्य हुने बताएका थिए। ‘राजपाले पहिले पनि सरकारलाई समर्थन गरेको थियो।बीचमा केही मिलेन। अहिले फेरि आउनुभएको छ। सहकार्यमा अगाडि बढ्छौं,’ उनले भनेका थिए।
दुई बुँदे सहमतिपछि राजपालाई उपसभामुख पद पनि दिन नेकपा तयार रहेको राजपना निकट स्रोत बताउँछ। यसका लागि प्रदेश २ मा नेकपा–राजपाको सरकार बनाउनुपर्ने सर्त नेकपाको छ।
राजपाले उपसभामुखका लागि दाबी गर्दै आए पनि संघीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सहकार्य गर्ने विषयमा ऊ मौन छ। राजपा अध्यक्ष मण्डलको अनौपचारिक छलफलले भने उपसभामुखका लागि नेकपासँग छलफल अगाडि बढाउने निष्कर्ष निकालेको छ।
नेकपासँगको सहकार्यका विषयमा राजपामा पनि दुई धार देखा परेको छ। राजपाको एउटा पक्षले संघीय सरकारमा सहभागी नभई समाजवादी पार्टीसँगको एकीकरण प्रक्रिया अगाडि बढाउन दबाब दिएको छ भने अर्को पक्ष सरकारमा सहभागी हुने र सरकार तथा संसद्लाई उपयोग गर्नुपर्ने अडानमा छ।
यता, समाजवादीका वरिष्ठ नेता अशोक राईले भने एकीकरण प्रक्रिया अगाडि बढाउन राजपासँग छलफल सुरु हुने बताएका छन्।
यिनै विषयमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, राजपा संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादीका वरिष्ठ नेता अशोक राईसँग गरिएको संक्षिप्त कुराकानीः
सुवासचन्द्र नेम्वाङ
उपनेता, नेकपा संसदीय दल
उपसभामुख राजपालाई दिने चर्चा सुरु भएको छ नि?
सभामुख नेकपाले राख्ने भए उपसभामुख अरु दललाई दिनुपर्छ। त्यसकारण राजपाको सम्भावना छ। राजपाले उपसभामुख पाउन सक्छ।
राजपा संघीय सरकारमा पनि सहभागी हुन्छ ?
संघीय सरकारमा राजपा आउन चाहन्छ भने हामी स्वागत गर्न तयार छौं। तर त्यो कुरा राजपामाथि निर्भर छ।
राजपासँगको छलफल अगाडि बढ्यो?
उपसभामुख र सरकारका विषयमा छलफल भइरहेको छ। औपचारिक छलफल भएको छैन। तर, अब गर्ने बेला भएको छ।
राजपासँगको दुईबुँदे सहमतिको अन्तिम बुँदामा राजनीतिक विषयमा थप सहकार्य गर्ने भनिएको छ, प्रदेशतिर पनि हुन्छ कि?
अहिले प्रदेश २ मा राजपा र समाजवादीको सरकार छ। सरकारमा रहने वा बाहिरिने उहाँहरुको विषय हो। हामीले चाहँदैमा सरकार ढल्दैन। प्रदेश सरकारका विषयमा राजपासँग छलफल भएको छैन।
समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। उपसभामुखका लागि उसले दाबी गर्न सक्दैन ?
सरकारलाई समर्थन दिइराख्ने अथवा फिर्ता लिने उहाँहरुको विषय हो। तर, अहिले समाजवादीसँग छलफल हुने सम्भावना छैन।
..............
लक्ष्मणलाल कर्ण
प्रमुख सचेतक, राजपा
सभामुख तथा उपसभामुखको निर्वाचन नजिकिँदैछ? राजपाको सम्भावना के हो?
उपसभामुखका विषयमा औपचारिक प्रस्ताव कतैबाट आएको छैन। हाम्रो दलभित्र पनि छलफल भएको छैन। संसदीय दलको बैठक पनि बस्न सकेको छैन। दलको बैठक बसेमा केही निर्णय आउन सक्छ।
अब संघीय सरकारमा सहभागी हुने हो?
हामीले उठाएका मधेस–थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग कायमै छ। यस्तो अवस्थामा राजपा संघीय सरकारमा सहभागी हुने सम्भावना म देख्दिनँ।
प्रदेश २ सरकारको भविष्य के हुन् अब ?
प्रदेश दुईमा सरकार छँदै छ। त्यहाँ हेरफेरको चर्चा छैन। तर, हेरौं राजनीतिक कसरी अगाडि बढ्छ।
...........
अशोक राई
वरिष्ठ नेता, समाजवादी पार्टी
तपाईंको पार्टीका मन्त्रीहरु सरकारबाट त बाहिरिए तर सरकारलाई दिएको समर्थन फिर्ता भएको छैन। के छ रणनीति?
सरकारबाट समर्थन फिर्ता लिने विषयमा हाम्रो पदाधिकारी बैठकमा छलफल हुँदैछ। बैठक सकेपछि सबै जानकारी आउँछ। तर, सरकारबाट बाहिरिएपछि समर्थन दिइराख्नु उपयुक्त होइन।
कहीँ समर्थन जारी राखेर उपसभामुखको दाबी त गर्ने होइन?
उपसभामुखमा दाबी गर्ने अथवा उम्मेदवारी दिने हाम्रो तयारी छैन। नेकपाको गतिविधिले हामीलाई केही टाढा पुर्याएको छ। तत्कालका लागि केही सम्भावनामाथि चर्चा गर्नु उपयुक्त होइन।
समाजवादी नेकपासँग पनि टाढियो र राजपासँग पनि टाढिएको छ अब राजपा र समाजवादीको एकीकरण हुने हो?
हो, एकीकरणको कुरा त अब बलियो गरी अगाडि बढ्नेछ। उहाँहरुले भनेबमोजिम हामी सरकारबाट बाहिर आएका छौं। एकीकरण प्रक्रियालाई अब फास्ट ट्र्याकमा अगाडि बढाउनुपर्छ।